शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फिचर
  • प्रधानमन्त्री ज्यु, अझै हिम्मत गर्नुस राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ

प्रधानमन्त्री ज्यु, अझै हिम्मत गर्नुस राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ

  • शुक्रबार, जेष्ठ ९, २०७७
प्रधानमन्त्री ज्यु, अझै हिम्मत गर्नुस राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ

 राधा पोखरेल–  सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार ! छिमेकी देश भारतका बिषयलाई लिएर बिभिन्नस्तरमा बिभिन्नखाले क्रियाप्रतिक्रियाहरूको बाढी नै लागिरहेको छ । त्यही प्रसंगमा मैले पनि यस पत्रमार्फत तपाईं समक्ष आफ्नो विचार प्रेषित गरेकी छु ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानि क्षेत्र नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । यो स्वागत योग्य कदम भएको छ । अब अतिक्रमिक भूमि फिर्ता गर्न सम्पुर्ण नागरिक साथमा लिएर सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरुन् भन्ने चाहना सम्पुर्ण नेपालीमा रहेको छ ।

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक चार वर्षअघि यिनै मोदीले नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो ।

देश दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा मोदीजीकै कारणले पुग्नु भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक पनि मोदीजीकै कारणले बन्नु भएको हो ।

प्रधानमन्त्रीज्यू !

भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन । देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको थियो । समृद्धिको प्रथम पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र निर्णय गर्नुपर्छ । कुनै पनि निर्णय लिनुभन्दा पहिले अाफ्नो देश र जनतालाई केन्द्रमा राख्नुहोस् ।

नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस् । यी सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरुन् ।

अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्साको कदमले क्षणिक मल्हमपट्टिको काम गरेको छ भन्दैमा रोग निर्मुल भएको भन्दै औषधि छाडिदिएँ क्यान्सर फैलने सम्भावना धेरै रहन्छ । प्रधानमन्त्री ज्यू ! नक्सा नयाँ वन्दैमा हाम्रो भु- भागलाई छिमेकिको हातबाट फर्काउन सकिएन भने नक्सालाई छातिमा सजाएर मेरो देश भनेर हिड्न मिल्दैन ।

अहिलेको निर्णयले पक्कै पनि छिमेकिको घरमा ठुलै भुकम्प गएको हुनपर्छ । अब त्यसबाट आउँने पराकम्पनहरुलाई हाम्रो घरले बेहोर्न सक्ने उच्च क्षमता बनाउँनु पर्दछ । अब सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट पर हटेर साहसिक निर्णय गर्ने अवसर अझै तपाईंसँग बाँकी छ । पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् यस दुई बर्षमा। तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ ।

असमान सन्धिसम्झौताहरू खारेज गरी देशको हितानुकूल नयाँ सन्धिसम्झौताहरू गर्न सक्नुभयो भने साँच्चै तपाईं राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ । अन्यथा तपाईंको पनि हालत उस्तै हुनेछ, जस्तो पहिलाका प्रधानमन्त्रीहरूको हुँदै आयो । रोजाई तपाईंको

अन्त्यमा,

समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । नसम्झनु होला, यो परीक्षा विरोधीको मात्र हो, यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार