बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • न्याय खोज्दा गाउँबाटै विस्थापित

न्याय खोज्दा गाउँबाटै विस्थापित

  • शनिबार, जेष्ठ ३, २०७७
न्याय खोज्दा गाउँबाटै विस्थापित

१० वर्षीया छोरीमाथि बलात्कार प्रयास गर्नेलाई कारबाहीको माग गर्दा कास्कीको एक परिवार गाउँबाटै विस्थापित हुन पुगेको छ । मादी गाउँपालिका–८ नागिधारको दलित परिवार लकडाउनमा विस्थापित भएर पोखरा आएको हो ।

बालिकाका बुबाका अनुसार ९ महिने छोरो कुर्न छोरीलाई घरमै राखेर वैशाख २ गते उनी र श्रीमती मकै गोड्न गए । बिहान ८ बजेको हुँदो हो, घरनजिकैका ६० वर्षीय खुसबहादुर गुरुङ बालिकाको घरमा पुगे । घरभित्र लगेर बालिकाको मुख थुने । जबर्जस्ती गर्न खोजे । त्यति बेलै गाउँकै महिला बालिकाका बुबालाई खोज्दै पुगिन् । घरभित्र गुनगुन गरेको सुनिन् । बाहिर मान्छे आएको थाहा पाएपछि खुसबहादुरले बालिकालाई कसैलाई केही नभन्न र भनेमा मारिदिने धम्की दिए । घरभित्रबाट कालो–निलो हुँदै निस्किएका खुसबहादुरले ती महिलालाई आफू मकै छोडाउन आएको बताए ।

तर महिलालाई शंका लाग्याे । उनले वैशाख २४ मा बालिकाका बुबाआमालाई घटनाबारे सुनाइन् । उनीहरूले गाउँकै शिक्षिकालाई बोलाएर छोरीलाई सबै कुरा सोध्न लगाए । बालिकाले डराई–डराई बेलीबिस्तार लगाइन् । उक्त कुरा कसैलाई भने मार्ने धम्की दिएकाले भन्न नसकेको बालिकाले बताइन् । त्यसपछि पनि ४–५ पल्ट खुसबहादुरले घरमा कोही भए/नभएको सोध्ने गरेको उनले सुनाइन् ।
बालिकाका बुबा छाँगाबाट खसेजस्तै भए । त्यसै दिन टोल समितिलाई खबर गरे । टोल समिति र स्थानीय भद्रभलाद्मी खुसबहादुरको दाइको घरमा भेला भए । टोलका अध्यक्ष डिल्लीराज गिरी, नागिधार सिर्जनशील युवा क्लबका अध्यक्ष ओमप्रकाश गुरुङलगायत ९ जनाले घटनालाई गाउँमै मिलाउनुपर्ने दबाब दिए ।

बैठकमा खुसबहादुर गल्ती स्विकार्दै गाउँको नियमानुसार १० हजार रुपैयाँ जरिवाना तिर्न राजी भए । बाहिर हल्ला नगर्न भने । एक साताभित्र पैसा ल्याएर दिने कुरा गरे । छोरीमाथि भएको घटना सुनेपछि रन्थनिएका बुबा केही बोल्न सकेनन् । ‘न्याय पाइन्छ कि भनेर भद्रभलाद्मी बोलाएँ, बैठक पनि बसियो,’ उनले भने, ‘दोषीलाई कानुनी कारबाही गर्न सहयोग पुर्‍याउलान् भन्ने सोचेको थिएँ । १० हजार रुपैयाँमा मिल्न भनियो । म पागल जस्तै भएँ ।’ बैठकमा गुरुङकै मान्छे धेरै थिए । बालिकाका तर्फबाट बुबा मात्रै थिए । आमालाई पनि बैठकमा बस्न दिइएन । डरले केही नभनी बालिकाका बुबा राति १ बजेतिर बैठकबाट बाहिरिए ।

घरमा आएपछि उनलाई कत्ति निद्रा परेन । श्रीमतीसँग सल्लाह गरे । भोलिपल्ट बिहान ४ बजे श्रीमतीले ९ महिनाको छोरा च्यापिन् । श्रीमान्ले केही कपडा पोको पारेर झोला बाँधे । ४ जनाको परिवार पैदलै पोखरा हिँड्यो । चाउचाउको भरमा बेलुका ६ बजे काहुँखोला आफन्तकोमा पुगे । वैशाख २६ मा जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए । जाहेरी दिएपछि विभिन्न नम्बरबाट बालिकाका बुबालाई फोन आउन थाल्यो । काहुँखोलामा गाउँतिरका मान्छे धेरै बसाइँ सरेर आएकाले त्यहाँ बस्न उचित ठानेनन् । पोखरा आएको पर्सिपल्ट अन्तै सरे । फोन आउने क्रम रोकिएन । कांग्रेस जिल्ला सदस्यसमेत रहेका ओमप्रकाश गुरुङले फोन गरेर गाउँमै मिल्नुपर्ने दबाव दिइरहे । ‘नेताजस्तो मान्छेले अपराधीलाई सजाय दिलाउनुपर्नेमा झन् ढाकछोप गर्नतिर लाग्नुभयो,’ बालिकाका बुबाले भने, ‘मेरो छोरीलाई कुखुरा, बाख्राजस्तै मोलमोलाइ गरियो । वडाध्यक्षलाई खबर गर्नुपर्‍यो भन्दा गाउँमै मिलाउन भन्नुभएको छ भन्ने जवाफ आयो ।’

बालिकाको परिवार बसेको ठाउँ पत्ता लगाउन नयाँ–नयाँ नम्बरबाट फोन आउने गरेको बुबा सुनाउँछन् । ‘कहिले पत्रकार, कहिले प्रहरी भनेर फोन आउँछ,’ उनले भने, ‘कहाँ छौ भेट्नुपर्‍यो भन्छन् । गाउँतिरै मिलाऔं भन्छन् भनेर कसैले नदेख्ने ठाउँमा बसेका छौं ।’

उजुरी परेपछि प्रहरीले खुसबहादुरलाई डाक्यो । उनी बिहीबार जिल्ला प्रहरी कार्यालय आए । उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए । गुरुङ पक्राउ परे पनि बालिकाको परिवारलाई चिन्ताले छोडेको छैन । अहिले बसिरहेको आफन्तका घरबेटीले लकडाउनमा धेरै मान्छे जम्मा नगर्न भनेकाले कोठा छोड्नुपर्ने अवस्था छ । नयाँ कोठा पाएका छैनन् । गाउँमा जान सक्ने अवस्था छैन ।

नागिधारमा अधिकांश गुरुङ समुदायको घर छ । आफ्नो घर नभएपछि बालिकाको परिवार पनि गुरुङले नै छोडेको घरमा बसिरहेका थिए । खेती किसानी गरेर जेनतेन परिवार धानिएको थियो । ‘गाउँमा गुरुङ समाज मात्रै छ,’ बालिकाका बुबाले भने, ‘गाउँमा गएँ भने एक्लै भएको बेला केही गर्छन् कि भन्ने डर लाग्छ ।’ घटनाबारे जानकारी पाएपछि विदेशमा रहेका नागिधारकै केही युवाले उनीहरूको खाने–बस्ने खर्च बेहोरिरहेका छन् ।

गाउँकै एक स्थानीयका अनुसार यसअघि पनि खुसबहादुरले एकल दलित महिलालाई बलात्कार गरेको केस गाउँमै मिलाइएको थियो । खुसबहादुरको किराना पसल रहेको र त्यहाँ आउने महिलामाथि पनि यौन दुर्व्यवहार गर्ने गरेको उनले बताए ।

मादी–८ का वडाध्यक्ष याम गुरुङले प्रहरीमा जाहेरी परेपछि मात्रै आफूलाई जानकारी भएको बताए । ‘खुसबहादुरलाई पठाइदिनुपर्‍यो भनेर प्रहरीले फोन गरेपछि मेरै पहलमा उनलाई जिल्ला प्रहरी कार्यालय पठाएँ,’ उनले भने, ‘दोषी हुन् भने उन्मुक्ति दिनुहुँदैन ।’ कांग्रेस नेता ओमप्रकाश गुरुङले उक्त घटना गाउँमा मिलाउनुपर्ने पक्षमा आफू उभिएको स्विकारे । ‘वैशाख २४ को बैठकमा म सहभागी भएकै हो,’ उनले भने, ‘दुई जनाबीच सहमति हुन्छ भने टोलको चलनअनुसार १० हजार रुपैयाँ तिराएर मिलाऔं भनेकै हो ।’ दुई वर्षअघि पनि नागिधारकै ७० वर्षीय वृद्धले बालिका बलात्कार गरेको घटना गाउँमै मिलेकाले यो घटनालाई पनि मिलाउन प्रयास गरेको उनको भनाइ छ । ‘गुरुङ गाउँको चलनचल्तीले पनि गाउँमै मिलाऔं भनेको हुँ,’ उनले भने, ‘मैले मात्रै होइन, बैठकमा उपस्थित सबैले भनेका हुन् ।’

चर्चामा

सम्बन्धित समाचार