शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदै

नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदै

  • मङ्लबार, भदौ ३१, २०७६
नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदै

काठमाडौँ,  नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ । हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ ।
जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही तथ्याङ्क ल्याउन हरेक व्यक्तिको जागरुकता अभिवृद्धि होस् भनी यो नारा तय गरिएको हो । जनगणनाको तथ्याङ्कअनुसार नै देशको आर्थिक तथा सामाजिक विकासको नीति, योजना बन्ने भएकाले हरेकले अपनत्व लिन उहाँले आग्रह गर्नुभएको छ ।

पूर्वतयारी सुरु
विभागले अहिले जनगणनाको पूर्वतयारीका क्रियाकलाप थालिसकेको छ । यही आर्थिक वर्षदेखि नै तीव्र रूपमा तयारीको काम थालिसकेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । सरकारबाट राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश पारित भई गत साउन ६ गते राजपत्रमा प्रकाशित भइसकेको छ । जनगणनाका लागि यसरी आदेश नै पारित गराइएको यो पहिलोपटक रहेको निर्देशक लामिछानेले बताउनुभयो ।
कार्ययोजनाअनुसार चालू आर्थिक वर्षमा जनगणनाको परीक्षण सर्वेेक्षण सञ्चालनको काम गरिनेछ । पाइलट सर्वेक्षणको तयारी लगभग सकिइसकेको विभागले जनाएको छ । पाइलट सर्वेक्षणपछि प्रश्नावली र निर्देशिकालाई अन्तिम रूप दिइनेछ । अहिले प्रश्नावलीको मस्यौदा र प्रश्नावली निर्देशिका मस्यौदा तयार गर्ने काम सुरु भइसकेको जानकारी दिइएको छ ।
आर्थिक वर्ष २०७७÷७८ जनगणनाको मुख्य वर्ष हो । यो वर्ष प्रदेश, जिल्ला र स्थानीयस्तरमा जनगणना कार्यालय स्थापना गरिनेछ । प्रदेश र ७७ जिल्ला जनगणना कार्यालय, ३५० स्थानीय जनगणना कार्यालय र ७५३ स्थानीय जनगणना समन्वय कार्यालय स्थापना गरिने विभागले जनाएको छ ।

दुई चरणको गणना
जनगणनाको मुख्य स्थलकार्य दुई चरणको हुनेछ । पहिलो चरणमा सुपरिवेक्षकहरू घर र घरपरिवार सूचीकरणका लागि पुग्नेछन् ।
यो काम २०७८ वैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिन हुनेछ । यही बेला सुपरिवेक्षकले नागरिकलाई जनगणनाबारे घरघरमै सन्देश लैजानेछन् । आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिनमा मुख्य प्रश्नावलीको काम सक्ने विभागका निर्देशक
लामिछानेले बताउनुभयो ।

बहुविधिको प्रयोग गरिने
विगतमा जनगणना गर्न गणकहरू फाराम र कलम लिएर घरघरमा जान्थे । आगामी जनगणनामा तथ्याङ्क सङ्कलनको बहुमोडल विधि प्रयोग गरिने भएको छ ।
सहज पहुँच, उच्च नेटवर्क र व्यवस्थापनजस्ता पक्ष हेरी केही स्थानमा ट्याबलेट र कागजी प्रश्नावलीलाई मिश्रित रूपमा प्रयोग गरी जनगणना गरिने निर्देशक लामिछानेले बताउनुभयो ।

जनशक्ति करारमा लिइने
आगामी जनगणनामा करारमा जनशक्ति भर्ना गर्ने निर्णय गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।
जम्मा ५४ हजार जनशक्ति जनगणना कार्यक्रममा संलग्न हुनेछन् । जसमा ४३ हजार गणक र नौ हजार जना सुपरिवेक्षक हुनेछन् भने बाँकी प्रशासनिक कार्यका लागि खटिनेछन् । याे समाचार गाेरखापत्र दैनीककाे अनलाइनबाट शाभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार