शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल टेलिकमको सिम अब हुलाकमार्फत घरमै पुग्ने, साउन १ देखि कार्यान्वयन हुने

नेपाल टेलिकमको सिम अब हुलाकमार्फत घरमै पुग्ने, साउन १ देखि कार्यान्वयन हुने

  • शुक्रबार, असार १९, २०८३
सेयर गर्नुहोस् :
नेपाल टेलिकमको सिम अब हुलाकमार्फत घरमै पुग्ने, साउन १ देखि कार्यान्वयन हुने

काठमाडौं–नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्रीहरू हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सामग्री ढुवानी सम्बन्धी सम्झौता भएसँगै यो व्यवस्था सम्भव भएको हो ।

बिहीबार आयोजित एक कार्यक्रमबीच दुई निकायबीच यस सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरे ।

यो सम्झौता कार्यान्वयनमा आएसँगै आगामी साउन १ गतेदेखि नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्स लगायतका सामग्रीहरू हुलाक सेवामार्फत ढुवानी गरिनेछ । यसबाट सेवाग्राहीले कम्पनीको कार्यालयसम्म नपुगी घरमै बसेर सेवा लिन सक्नेछन् ।

निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई अनलाइन वा वैकल्पिक माध्यमबाट सेवा दिने कार्यलाई प्राथमिकता दिइरहेको बताइन् । हुलाकसँगको यो सहकार्यले कम्पनीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने उनको विश्वास छ ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सरकारी सेवा पुऱ्याउने लक्ष्यलाई व्यावहारिक रूप दिन यो सम्झौता महत्वपूर्ण कदम भएको बताइन् । यो सहकार्यलाई आउँदा दिनमा अझै विस्तार गर्ने उनको भनाइ छ ।

सरकारी स्वामित्वका दुई ठूला संस्थाहरू बीचको यो सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाललाई उपयोग गर्दै नेपाल टेलिकमको सेवालाई अझ बढी सुरक्षित, गुणस्तरीय र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार