बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए, ४ प्रतिशतको पनि परीक्षण भएन

जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए, ४ प्रतिशतको पनि परीक्षण भएन

  • आइतवार, जेष्ठ ३२, २०७७
जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए, ४ प्रतिशतको पनि परीक्षण भएन

धनगढी — भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजार बढि नेपाली भित्रिएका छन्। जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन्। सबैभन्दा बढि कैलालीको त्रिनगर नाका भएर भारतमा अलपत्र नेपाली भित्रिएका छन् भने सबैभन्दा कम दार्चुलाको नाका भएर भित्रिएका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठको २७ दिनमा त्रिनगर नाका भएर मात्रै ७८ हजार बढि नेपाली भित्रिएका छन्। ‘सुरुमा २ र ३ गते पलिया र रामपुर क्वारेन्टिनमा रहेका नेपालीको उद्धार गरीएको थियो,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘त्यसपछि ७ गतेबाट नाका खोलिएको थियो। आज पनि भारतमा अलपत्र नेपालीको उद्धार जारी छ।’

उनका अनुसार त्रिनगर नाका भएर भित्रिएका मध्ये अधिकासं सुदूरपश्चिम प्रदेशकै रहेका छन्। पछिल्लो समय भित्रिने नेपालीको सङख्या घटेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाका भएर जेठ महिनामा झण्डै २८ हजार नेपाली भित्रिएका छन्। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले गड्डाचौकी नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयनमा गन्तव्यमा पठाइएको बताए।

उनका अनुसार तीन हजार ६ सय ४३ जना भारतीय नागरिकलाई पनि भारत पठाइएको छ। उता बैतडीको झुलाघाट नाकाबाट जेठमा झण्डै १० हजार नेपाली भित्रिएका छन् भने दार्चुलाको नाकाबाट साढे तीन सय नेपाली भित्रिएका छन्।

जेठ महिनामा मात्रै एक लाख १६ हजार बढि नेपाली सुदूरपश्चिम भित्रिएपनि परीक्षण भने चार प्रतिशतको पनि भएको छैन्। स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सुदूरपश्चिममा ८ हजार बढिको कोरोना परीक्षण भएकोमा जेठ महिनामा मात्रै ५ हजार ५ सयको परीक्षण भएको छ।

जेठमै आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका शंकास्पद बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार पनि परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार जेठमा ५ हजार ५ सयको कोरोना परीक्षण गरीएकोमा भारतबाट फर्किएका चार हजारको मात्रै परीक्षण भएको छ। जेठमा मात्रै सुदूरपश्चिम प्रदेशमा दुई सय ५० जनाा कोरोना संक्रमित थपिएका छन्।

चर्चामा

सम्बन्धित समाचार