• होमपेज
  • राजनीति
  • लकडाउनमा संसद् अधिवेशन : सांसद ओसार्नेदेखि स्वास्थ्य परीक्षणको तनाव

लकडाउनमा संसद् अधिवेशन : सांसद ओसार्नेदेखि स्वास्थ्य परीक्षणको तनाव

  • बिहिबार, बैशाख २५, २०७७
लकडाउनमा संसद् अधिवेशन : सांसद ओसार्नेदेखि स्वास्थ्य परीक्षणको तनाव

काठमाडौं : लकडाउनका बीच शुक्रबारबाट सुरु हुन लागेको संसदको बजेट अधिवेशन स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको छ। अधिवेशनका बेला मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी, मन्त्री र सांसदका पीएसहित एक हजार जना भन्दा बढी संसद भवनमा भेला हुने भएकाले जोखिमपूर्ण रहने स्वास्थ्यविज्ञ बताउँछन्।

सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्नेदेखि सांसदलाई सुरक्षित रुपमा ओसार पसार गर्ने थप जिम्मेवारी सचिवालयको काँधमा छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने दिन संसदको दुवै सदनका ३ सय ३४ सांसदको संयुक्त बैठक बस्नुपर्छ। संयुक्त बैठकका दिन सामाजिक दुरी सहितको कुर्सी व्यवस्थापन गर्न सचिवालयलाई कठिन भएको छ। सचिवालयले साविकका दुई कुर्सीको बीचमा एक कुर्सी छोडेर सांसदलाई बस्ने व्यवस्था गरेको थियो। तर, स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागका विज्ञले एक मिटर सामाजिक दुरी हुनुपर्ने भन्दै बीचका दुई कुर्सी छोडनुपर्ने सुझाव दिएपछि सचिवालयले पुनः सोेही अनुसार व्यवस्थापन गरिरहेको छ।

राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनको दिन र बजेट भाषणका दिन दुवै सदनको संयुक्त बैठक बस्नुपर्छ। सचिवालयका सहप्रवक्ता दशरथ धमलाले स्वास्थ्य विज्ञको सुझाव अनुसार कुर्सी व्यवस्थापन गर्दा केही सांसदलाई (बाल्कोनी)मा राख्नुपर्ने अवस्था देखिएको बताए। प्रतिनिधिसभाको बैठक कक्षको बाल्कोनीमा हाल दर्शक र पत्रकार बस्ने गर्छन्। बाल्कोनीबाट पत्रकार र दर्शकदीर्घा हटाएर सचिवालयले सांसदलाई बस्ने व्यवस्था मिलाइसकेको छ। ‘कोरोनाले विश्वलाई आच्छु–आच्छु पारिरकेको बेला देश हाक्ने सबै नेताहरु संसदमा उपस्थित हुँदै हुनुहुन्छ, सचिवालयका एक उच्च अधिकारी भन्छन्, ‘भोली छिसिक्कै केही भइहाल्यो भने त्यसको परिणाम के होला? हाम्रा लागि यो अधिवेशन निकै चुनौती र जोखिमपूर्ण छ।’

स्वास्थ्य जाँच र सुरक्षा सतर्कतामा कडाई गर्नुको विकल्प नभएको बताउँदै सचिवालयका ती अधिकारी भन्छन्, ‘यसमा सांसद र मन्त्रीहरुबाट पनि पूर्ण सहयोग हुने विश्वास गरेका छौ।’ हालैमात्र दोस्रो मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइएको सचिवालयका अधिकारीहरु बताउँछन्। प्रधानमन्त्रीका लागि बैठक कक्षको अघिल्लो लहर (रो) मा एकल कुर्सी राखिने र प्रधानमन्त्री भन्दा पछाडिको लहर (पुरै) खाली राखिने सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका निजी चिकित्सकको टोलीले बुधवार संसद बैठक कक्षको अवलोकन गरेको छ। संसद सचिवालयको स्वास्थ्य शाखाका एक अधिकारी भन्छन, ‘कोरोनाको सम्भावित संक्रमणबाट जोगिएर बैठक सञ्चालन गर्न हामीले सबैखाले सुरक्षाका उपाय अपनाउने कोशिस गरेका छौ। त्यसका लागि स्वास्थ्य सेवा विभागका विज्ञहरुसँग मिलेर काम गरिरहेका छौ।’

सांसदहरुको पीसीआर टेष्ट गरिने

संसद सचिवालयले बिहीबार दुवै सदनका सांसदको पीसिआर टेष्ट गर्ने भएको छ। स्वास्थ्य सेवा विभागका विज्ञले बिहान १० बजेदेखि संसद भवनमा पीसीआर टेष्ट गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए। केही सांसदहरु हाल कोरोना संक्रमित देखिएका क्षेत्रबाट पनि आउने भएकाले अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्टको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ। संसद भवनमा स्वास्थ्य परीक्षणका लागि किट र उपकरणको व्यवस्था गरिदिन सचिवालयले केहीदिन यता स्वास्थ्य मन्त्रालयममा निकै दौडधुप गर्नु परेको थियो।

सचिवालयका एक कर्मचारीले भने, ‘बैठकमा प्रत्यक्ष सहभागी हुने कर्मचारी र मर्यादापालकको पीसीआर टेष्टका लागि किट र उपकरणको व्यवस्था गर्न सकेका छैनौ।’ पीसीआरको रिपोर्ट बढीमा ८ घण्टाभित्र आइसक्ने भएकाले शुक्रबार अधिवेशन अगावै सबै रिपोर्ट आउने र अधिवेशन सञ्चालन गर्न ढुक्न बन्न सकिने सचिवालयका पदाधिकारी बताउँछन।

हात धुन र मास्क अनिवार्य

संसद सचिवालयले संसद भवन प्रवेश गर्ने बाटोमा साबुन पानीको व्यवस्था गर्दैछ। संसद भवन परिसरमा प्रवेश गर्ने जो कोहीलाई पनि हात धुन र मास्क लगाउन अनिवार्य गरिदैंछ। सचिवालयका अनुसार थर्मल गनमार्फत ज्वरो नाप्ने र हात धोइसकेपछि स्यानिटाईजरको व्यवस्था गरिएको छ। संसद बैठक कक्षमा पनि सांसद बस्ने कुर्सी अघि रहने बेञ्चमा स्यानिटाईजर राखिनेछ। माईक समाप्दा र माईक छोडेपनि हातमा स्यानिटाईजर गर्न सचिवालयले सांसदसँग आग्रह गरेको छ।

सांसद ओसार पसारमा समस्या

संसद सचिवालयलाई नीजि सवारीसाधन नहुने सांसदहरुको ओसारपसार टाउको दुखाईको विषय बन्ने देखिएको छ। निजी सवारी हुने सांसदलाई संसद सचिवालयले जारी गरेको पासका आधारमा सवारी सञ्चालन गर्न दिन सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। तर, गृहले त्यसबारे बुधवार साँझसम्म कुनै जवाफ दिएको छैन। निजी सवारी नभएका सांसदलाई सचिवालय आफैले घर घरबाट ल्याउने र छोडनुपर्ने व्यवस्था गर्दैछ।

सचिवालयका बसमा सामाजिक दुरीसहित ओसारपसारको व्यवस्था मिलाउने तयारी भइरहेको सचिवालयले जनाएको छ। केही सांसदले लिफ्ट मागेर बैठकमा आउने चाहना देखाएपनि गृह मन्त्रालयले पासमा कडाई गरेकाले त्यसबारे अहिले नै केही भन्ने अवस्था नरहेको सचिवालयका अधिकारी बताउँछन्।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार