बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • आफ्नै देश बिरानो भएपछि

आफ्नै देश बिरानो भएपछि

  • आइतवार, चैत्र २३, २०७६
आफ्नै देश बिरानो भएपछि

बैतडी : नरबहादुर बोहरा भारतको लोहाघाटमा मजदुरी गर्दै थिए। नयाँ वर्ष (बिसु) मनाउन पुर्चौंडी-८ मल्लादेहीस्थित घर फर्किने उनको योजना थियो। कोरोना सन्त्रास फैलिएपछि नेपाल आउन तयार भए तर समयमा उनले ज्याला पाएनन्। त्यति बेलासम्म नेपाल लकडाउनमा गइसकेको थियो।

उनीसहित सात जना झुलाघाटनजिकै बल्तडीसम्म आइपुगे। उनीहरूले एक रात भारतको एउटा विद्यालयको आँगनमा कटाए। तीन दिन भोकै बसेको उनले सुनाए। ‘अर्काको देशमा भोकै मर्नुभन्दा त घर जान पाए केही न केही व्यवस्था भइहाल्थ्यो भनेर सोच्यौं’, उनले भने, ‘नाका बन्द थियो। हामीले सहजै नेपाल भित्रिन सकिने अवस्था थिएन। साँझको समयमा ट्युबबाट महाकाली नदी तरेर नेपाल भित्रिने निधो गर्‍यौं। हामीले प्रतिव्यक्ति १ हजार २ सय तिरेर नेपाली भूमिमा पाइला राख्यौंं।’

सातै जना गत मंगलबार नेपाल आएका हुन्। ‘स्वदेश आएपछि हाम्रै गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका छौं। आफ्नो भूमिमा खाना त पाइरहेका छौं। धेरै नेपाली सीमामा अलपत्र छन्। सरकारले उनीहरूको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्नुपर्छ’, गणेश बोहराले भने, ‘भारतको सीमा झुलाघाटमा सयौं नेपाली भोकभोकै छन्। यसतर्फ सरकारको ध्यान जाओस्।’

सुर्नया-८ का वीरबहादुर बोहरा भारतीय क्वारेन्टाइनमा बसोबासको समस्या भएपछि जोखिम मोलेर आएका हुन्। उनी गाउँपालिकाले गाउँकै विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका छन्। ‘एक दिन म पनि धर्मशालामा बसेको हुँ। अर्काको देशमा भोकभोकै मर्नुभन्दा स्वदेश मरौंला भनेर ज्यानको बाजी लगाएर फर्केको हुँ’, उनले भने, ‘साँझको समयमा ट्युबवालालाई १ हजार दिएर महाकाली नदी तरें।’

सरकारले लकडाउनसँगै सीमा नाका बन्द गरे पनि झुलाघाट आसपासबाट ट्युबका माध्यमबाट नेपालीहरू दैनिक स्वदेश भित्रिरहेका छन्। भारतमा खानबस्न समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको उनीहरूको भनाइ छ।

लकडाउनपछि ट्युबमार्फत कति नेपाली आए भन्ने तथ्यांक छैन। क्वारेन्टाइनमा बसेका ४ सय ३९ मध्ये धेरैजसो महाकाली नदी तरेर फर्किएका हुन्।

भारतको झुलाघाटका केही विद्यालय र धर्मशालामा अढाई सयभन्दा बढी नेपाली बसिरहेका छन्। उनीहरूलाई खानाका लागि भारत सरकारले चामल उपलब्ध गराए पनि बसोबासको समस्या छ। ‘हामी एक विद्यालयमा ८५ जना बसिरहेका छौं। बस्नका लागि हामीसँग भएकै कपडा प्रयोग गरेर भुइँमा सुतिरहेका छौं। धेरै जना एकै ठाउँमा बस्दा समस्या भएको छ’, पुर्चौंडी-३ न्वादेउका सल्लो पार्कीले भने, ‘यता काम पनि रोकियो। घरका लागि भनेर कमाएको दुई पैसा पनि सकियो। हामीलाई स्वदेश फर्कायो भने हामी एक महिना भने पनि क्वारेन्टाइनमै बस्थ्यौं। अर्काको देशमा हामीलाई साह्रै समस्या भएको छ।’

क्वारेन्टाइनमा बसेका नेपालीले सामूहिक रूपमा खाना बनाएर खाने गरेका छन्। यसले पनि रोगको जोखिम हुन सक्ने भएकाले स्वदेश फर्काउनुपर्ने उनीहरूको माग छ। ‘क्वारेन्टाइनमा बसेका धेरै साथीहरू ट्युबमार्फत नेपाल पुगिसके। हामीसँग खर्च पनि छैन। हामीलाई आफ्नो देश बिरानो भएको छ’, पुर्चौंडी-३ न्वादेउका लोकेन्द्र पार्कीले अन्नपूर्णसँग फोनमा भने, ‘जसरी भए पनि हामी हाम्रो देशमा आउन चाहन्छौं। हामी मजदुर हौं। हामीसँग पैसा छैन। यताका क्वारेन्टाइनमा हामी धेरै समस्या झेलिरहेका छौं।’

भारतका विभिन्न स्थानमा केही नेपाली मजदुर क्वारेन्टाइनमा बसेका भए पनि धेरैजसो ओढारमै बस्न भएका छन्। क्वारेन्टाइनसम्म पुग्न नसकेका र खर्च नभएका नेपाली मजदुर सीमावर्ती भारतका ओढारमा दिनरात काट्न बाध्य भएका हुन्।

पुर्चौंडी-८ मल्लादेही घर भएका केशव पाठकले तीनदेखि आम्भाडीमा ओढारमा बसिरहेको सुनाए। ‘हामी पाँच जना ओढारमा बसेका छौं। अन्य ठाउँमा पनि धेरै नागरिक ओढारमा दिन-रात भोकभोकै बिताइरहेका छन्’, उनले भने, ‘अर्काको देशमा भोकै मर्नुभन्दा स्वदेश फर्किन पाए हुन्थ्यो।’

पैसा भएकाहरू ट्युबमार्फत नेपाल फर्किरहेको उल्लेख गर्दै उनले पैसा सकिएकाहरू अलपत्र गरेको बताए। ‘हामी स्वदेशमा जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौं’, उनले भने, ‘तर, अर्काको देशमा भोकभोकै बस्न हामीलाई साह्रै असहज भएको छ।’

चर्चामा

सम्बन्धित समाचार