• होमपेज
  • समाज
  • १० करोड क्षतिपूर्ति माग्दै गायत्री साहले हालिन् मेडिसिटीविरुद्ध मुद्दा

१० करोड क्षतिपूर्ति माग्दै गायत्री साहले हालिन् मेडिसिटीविरुद्ध मुद्दा

  • बिहिबार, कार्तिक ७, २०७६
१० करोड क्षतिपूर्ति माग्दै गायत्री साहले हालिन् मेडिसिटीविरुद्ध मुद्दा

काठमाडौं : ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको मागसहित पूर्वसांसद गायत्री साहले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० बमोजिम अस्पताल र सम्बद्ध चिकित्सकबाट क्षतिपूर्ति भराउन माग गरिएको छ।

अस्पताल र सम्बन्धित चिकित्सकको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको विकलाङ्ग बच्चा जन्माउनुपरेको दाबी मुद्दामा गरिएको छ। गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको भन्दै आश्वस्त पारेका कारण असक्त बच्चा जन्माउनुपरेको दाबीसमेत साहले फिरादमा उल्लेख गरेकी छन्।

‘मेरो बच्चाको स्वास्थ्य अवस्था अब जीवनभर सुधार नहुने, जीवनभर औषधि उपचार गरिरहनुपर्ने र राम्रो उपचार नपाएमा कुनै पनि समयमा मृत्यु हुनसक्ने अवस्था छ,’ साहले भनेकी छन्।

विकलाङ्ग बच्चा जन्मिएका कारण अस्पतालमा लाखौं रुपैयाँ खर्च गर्नुपरेको र शारीरिक तथा मानसिक यातना भोग्नुपरेको भनाइसमेत साहको छ।

गत वर्षको फागुन २८ गते साहले उक्त अस्पतालमा बच्चा जन्माएकी थिइन्। ‘आर्थिक, मानसिक र शारीरिक क्षति पुग्यो भनेर अस्पतालविरुद्ध क्षतिपूर्ति मुद्दा दर्ता हुन आएको छ। अदालतबाट विपक्षीलाई म्याद जारी गर्ने काम हुँदैछ,’ ललितपुर जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्र कालाखेतीले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०५० को दफा ५० बमोजिमको क्षतिपूर्ति माग गरिएको छ।’

चर्चामा

सम्बन्धित समाचार