
बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँ अधिवेशन सुरु भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि अधिवेशन आयोजना गरेको हो। गाउँपालिकाको सुइजिउलामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले अवलम्बन गर्ने नीति, सञ्चालन गर्ने विकास कार्यक्रम तथा बजेटका प्राथमिकतामाथि छलफल अघि बढाइएको जनाएको छ। अधिवेशनमार्फत गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह सुधार, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
“उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि र खेलकुद समृद्ध स्वामिकार्तिक खापर” भन्ने मूल नारासहित सुरु भएको अधिवेशनले स्थानीय सरकारको आगामी वर्षको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। गाउँसभामा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा योजनाका प्रस्तावमाथि छलफल गरी पारित गरिने तयारी गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु भएको अधिवेशनमा स्थानीय आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई आधार बनाएर आगामी आर्थिक वर्षका कार्यक्रम तय गरिने जनाइएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, रोजगारमूलक कार्यक्रम तथा खेलकुद क्षेत्रको विकासलाई समेटेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।
गाउँसभा स्थानीय तहको वार्षिक नीति, कार्यक्रम र बजेट निर्माणको महत्वपूर्ण मञ्च भएकाले यस अधिवेशनबाट गाउँपालिकाको आगामी वर्षको विकास दिशा, बजेट विनियोजनको खाका तथा सेवा प्रवाह सुधारका योजनाले औपचारिकता पाउने अपेक्षा गरिएको छ।


