• होमपेज
  • देश/प्रदेश
  • बाजुरा बस दुर्घटना अपडेट : घाइतेमध्य १ जनालाई अछाम रेफर, २३ जना बाजुरा अस्पताल ल्याइयाे

बाजुरा बस दुर्घटना अपडेट : घाइतेमध्य १ जनालाई अछाम रेफर, २३ जना बाजुरा अस्पताल ल्याइयाे

  • आइतवार, असार ७, २०८३
सेयर गर्नुहोस् :
बाजुरा बस दुर्घटना अपडेट : घाइतेमध्य १ जनालाई अछाम रेफर, २३ जना बाजुरा अस्पताल ल्याइयाे

बाजुरा— बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीका अनुसार आज बिहान ७:१० बजे साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको हो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेका छन्। बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेक फेल भई सडकको बाँया नाली साइडमा पल्टिएको सुचना अधिकारी शाहीले बताए।

दुर्घटनाबारे बिहान ७:३५ बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर प्राप्त हुनासाथ उद्धार तथा राहतका लागि विभिन्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। अस्थायी प्रहरी पोस्ट रिठाबजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा ७ जना, प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा ७ जना र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना गरी ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे  छ।

घाइतेहरूको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स परिचालन गरिएको थियो। हालसम्म २३ जना घाइतेलाई जिल्ला अस्पताल बाजुरा ल्याइएकाे प्रहरीले जनाएको छ। त्यसमध्ये १ जना घाइतेलाई दुर्घटना स्थलबाट उपचारका लागि अछामकाे बयालपाटा अस्पताल  पठाइएको छ भने २ जना घाइते आफैं मोटरसाइकलमार्फत अस्पताल गएको प्रहरीकाे भनाइ रहेकाे छ।

प्रहरीका अनुसार घाइतेहरूको नामथर, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण  आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार