बिहिबार, असार ४, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

  • बिहिबार, असार ४, २०८३
सेयर गर्नुहोस् :
अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् ।

अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।

अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भने शुक्रबार स्वीटजरल्याण्डमा हुँदैछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौताका प्रमुख ६ बुँदाहरू यस्ता छन्–

१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।

२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।

३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।

४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।

५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।

६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुन: दोहोर्‍याउने ।

यी सम्झौताले गत अप्रिल महिनामा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याएको छ, ताकि दुवै पक्षले स्थायी शान्ति सम्झौताका लागि वार्ता गर्न सकून् ।

फ्रान्समा भेला भएका जी–७ का नेताहरूले पनि यस इरान सम्झौताको स्वागत गरेका छन् । यद्यपि, एक वरिष्ठ अमेरिकी अधिकारीले सम्झौता बाध्यकारी नबनाएसम्म जुनसुकै पक्ष पनि यसबाट पछि हट्न सक्ने आशंका कायमै रहेको बताएका छन् ।

सम्झौता पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुन: आक्रमण सुरु गर्ने चेतावनी दिएका छन् ।

फ्रान्समा आयोजना भइरहेको जी–७ शिखर सम्मेलनमा सहभागी ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘यदि उनीहरूले सम्झौता उल्लंघन गरे, हामी उनीहरूमाथि भयानक बमबारी गर्नेछौँ । म त्यसो होस् भन्ने चाहन्नँ, म उनीहरूले सम्झौताको सम्मान गरुन् भन्ने चाहन्छु ।’

उनले इरानीहरूलाई ‘स्मार्ट मानिस’ भन्दै आगामी ६० दिनभित्र स्थायी युद्धविरामका लागि दुवै देशका वार्ताकारहरूले काम गरिरहेको जानकारी दिए ।

यसअघि उनले इरानले राम्रो व्यवहार नगरे पुन: बम खसाल्न सुरु गर्ने चेतावनी दिएका थिए ।

आफ्नो अडानबाट पछि हटे ट्रम्प

विगतमा इरानको ब्यालिस्टिक मिसाइललाई नामोनिसान मेटाइदिने कसम खाएका ट्रम्पले यसपटक भने आफ्नो बोली फेरेका छन् । इरानसँग ब्यालिस्टिक मिसाइल हुनु हुँदैन भन्नु ‘अन्यायपूर्ण’ हुने भन्दै ट्रम्पले आक्रमणको आफ्नो एउटा प्रमुख औचित्यलाई आफैँले फिर्ता लिएका छन् ।

युद्धको सुरुवातमा ट्रम्पले राखेका धेरैजसो उद्देश्यहरू पूरा हुन नसकेको र इरान आक्रमण हुनुभन्दा अघिको तुलनामा अहिले अर्बौँ डलरको प्रतिबन्धबाट मुक्ति पाउने स्थिति नजिक पुगेको देखिएको रोयटर्सले जनाएको छ ।

समाचार अनुसार इरानको परम्परागत सरकार यथावतै छ । उसको अत्यधिक संवर्धित युरेनियमको भण्डार सुरक्षित छ । ब्यालिस्टिक मिसाइल क्षमता नष्ट भएको छैन र लेबनानको हिजबुल्लाह जस्ता इजरायल विरोधी समूहहरूलाई उसले गर्ने समर्थन पनि रोकिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार