
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् ।
मन्त्री लम्सालको सो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले भनेका छन् ।
उनी आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका थिए । त्यसक्रममा उनले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा सो अभिव्यक्ति दिएका हुन् ।
सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।
पोल सार्ने जिम्मा पाएको छ सोहन कन्स्ट्रक्सनले पूर्वी खण्डमा बिजुलीका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।
पूर्वी खण्ड सडक आयोजनाका एक कर्मचारीका अनुसार आदमघाटदेखि मलेखुसम्म बिजुलीका ७४ वटा पोल छन् । कतै नयाँ पोल गाडे पनि पुरानो पोलमा तार यथावत छन् । ‘धेरैजसो पोल सारिएका छैनन् । ती पोलमा करेन्ट प्रवाह भइरहेकाले दुर्घटनाको जोखिम छ, यो कुरा थाहा पाएपछि मन्त्रीज्यू पनि आवेशमा आएर अभिव्यक्ति दिएजस्तो लाग्यो,’ ती कर्मचारीले भने ।
नागढुंगादेखि मुग्लिनसम्मको खण्डमा बिजुलीका पोल सार्न मात्रै १२ करोड रुपैयाँ भन्दा बढी खर्च हुने इस्टिमेट गरिएको छ । पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान छ । त्यसमध्ये ५ करोड रुपैयाँ पूर्वी खण्ड आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेको छ ।
‘बिजुलीका पोल सार्न लाग्ने खर्चको अब अन्तिम किस्ता मात्र बुझाउन बाँकी छ,’ एक कर्मचारीले भने, ‘विद्युत् प्राधिकरणबाट कागजपत्र आउनासाथ त्यो पनि भुक्तानी हुन्छ । तर पोल नसारिँदा काम गर्न गाह्रो भएको छ ।’
सडक अनुगमनपछि मन्त्री लम्सालले भनेका छन्, ‘यिनीहरुले चाँडै भन्दा चाँडै पोल सार्नु परो । यहाँको पब्लिकले धेरै दु:ख पाए । त्यो भएर काम गराउनु परो राम्रोसँग । यो बिजुलीको पोलको भयो । अनि अर्को मेटेरियलको लागि पनि सहजीकरण गर्न सकिन्छ…’ सार्वजनिक भएको भिडियोमा सुनिन्छ ।
आइतबार नै प्रधानमन्त्री बालेन शाहले ‘देश बनाउने टोली’ लेखेर पूर्वाधार विकास मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङलाई दायाँ–वायाँ राखेको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।


