
बाजुरा —जिल्ला अस्पताल बाजुराका एमडीजीपी डाक्टर आशिष कार्कीले एक बिरामीलाई रक्तदान गरेका छन् । डाक्टर कार्कीले जिल्लाको त्रिवेणी नगरपालिका ९ की ३१ वर्षीय महिलालाई रक्तदान गरेका हुन् ।
हालसम्म तेस्रो पटक रक्तदान गरेका डाक्टर कार्कीले जिल्लामा पुगेपछि भने पहिलोपटक रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा रक्तश्राव भएर रग आवश्यक भएकी बिरामीलाई अप्रेसन गर्ने चिकित्सक कार्कीले नै रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा आएकी ती महिलालाई रगत अभाव भएपछि आकस्मिक अवस्थामा आवश्यक रगत उपलब्ध नहुँदा डाक्टर कार्कीले स्वयं रक्तदान गरेको मानवीय व्यवहारले स्वास्थ्यकर्मीको सामाजिक दायित्वलाई थप उजागर गरेको छ।
दुर्गम जिल्लामा नियमित रक्त सञ्चार सेवा र पर्याप्त रक्तदाता नहुँदा उपचारमा चुनौती आएको छ । जिल्लामा ब्लड बैंक नहुँदा यहाँ रगतका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको भर पर्नु पर्ने बाध्यता रहेको छ ।
यो घटना एक चिकित्सकले रक्तदान गरेको सामान्य विषय मात्र होइन, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका क्रममा स्वास्थ्यकर्मीहरूले भोग्नुपर्ने वास्तविकताको प्रतिबिम्ब पनि हो। पर्याप्त स्रोत–साधन, विशेषज्ञ जनशक्ति र रक्त सञ्चार सेवाको अभावका बीच पनि स्वास्थ्यकर्मीहरू बिरामीको जीवन रक्षाका लागि अतिरिक्त जिम्मेवारी वहन गर्न बाध्य हुने अवस्था यस घटनाले देखाएको छ।
विशेषगरी बाजुरा जस्ता हिमाली जिल्लामा आकस्मिक रक्त आवश्यक पर्दा तत्काल व्यवस्थापन गर्न कठिन हुने गरेको छ। रक्तदाता खोज्ने, रगत परीक्षण गर्ने र आवश्यक समूहको रगत उपलब्ध गराउने प्रक्रिया चुनौतीपूर्ण बन्दै आएको छ। यस्ता परिस्थितिमा चिकित्सक स्वयं रक्तदाता बन्नु सेवा भावना र पेशागत समर्पणको उदाहरणका रूपमा हेरिएको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा केवल औषधि र उपकरणको भरमा मात्र चल्दैन, स्वास्थ्यकर्मीको प्रतिबद्धता, संवेदनशीलता र मानवीय व्यवहारले पनि त्यसको प्रभावकारिता निर्धारण गर्छ। सुत्केरीको ज्यान बचाउन डाक्टर आशिष कार्कीले गरेको रक्तदानले स्वास्थ्य सेवाको यही मानवीय पक्षलाई पुनः एकपटक उजागर गरेको छ।


