शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • भीषण आगलागीको एक वर्ष पूरा: ‘कालो दिन’ स्मरण गर्दै बाम्का बजार पूर्ण रूपमा बन्द

भीषण आगलागीको एक वर्ष पूरा: ‘कालो दिन’ स्मरण गर्दै बाम्का बजार पूर्ण रूपमा बन्द

  • शनिबार, जेष्ठ २३, २०८३
सेयर गर्नुहोस् :
भीषण आगलागीको एक वर्ष पूरा: ‘कालो दिन’ स्मरण गर्दै बाम्का बजार पूर्ण रूपमा बन्द

गौरब विष्ट,२३ जेठ–गत वर्ष जेठ २३ गते बाम्का बजारमा भएको देशकै एउटा ठूलो र भीषण आगलागीको घटनाले आज एक वर्ष पूरा गरेको छ। उक्त त्रासदीपूर्ण दुर्घटनामा मानवीय क्षति नभए तापनि आफ्नो वर्षौंदेखिको मिहिनेत, करोडौँको लगानी र सम्पत्ति आँखाकै अगाडि खरानी हुँदा ठूलो आर्थिक आघात बेहोरेका बाम्का बजारका व्यवसायीहरूले आजको दिनलाई एउटा ‘कालो दिन’ का रूपमा स्मरण गरेका छन्। उक्त दिन व्यवसायीहरूले भोग्नुपरेको आर्थिक बिचल्ली र मानसिक पीडाप्रति ऐक्यबद्धता जनाउन आज बाम्का बजार पूर्ण रूपमा ठप्प पारिएको छ।

बाम्का बजार व्यवस्थापन समिति र बाम्का बजार व्यवसायीहरूको आम भेलाले गरेको पूर्व निर्णय अनुसार आज शनिवार बिहानैदेखि बेलुकी ६ बजेसम्म सम्पूर्ण व्यापारिक प्रतिष्ठान, पसल र उद्योगहरू पूर्ण रूपमा बन्द गरिएका हुन्। भविष्यका सुन्दर सपनाहरू क्षणभरमै दनदनी बलेर नष्ट भएको त्यो दुःखद क्षणलाई सम्झिँदा आज पनि सम्पूर्ण बजारबासी र स्थानीय नागरिक स्तब्ध देखिन्छन्। बजार व्यवस्थापन समितिले आजको बन्द विशेष परिस्थिति र पीडितहरूको भावनात्मक संवेदनशीलतासँग जोडिएको उल्लेख गर्दै यसबाट स्थानीय उपभोक्ता तथा आदरणीय ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ। साथै, यो दुःखको घडीमा बन्दलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी र नागरिकहरूमा समितिले कृतज्ञता समेत प्रकट गरेको छ।

उक्त कहालीलाग्दो आगलागीले बाम्का बजारको आर्थिक मेरुदण्ड पूर्ण रूपमा खलबलाए पनि र व्यवसायीहरू सडकमा पुग्ने स्थिति सिर्जना भए पनि, विपत्तिको एक वर्ष बितिसक्दा यहाँका व्यवसायीहरू आफ्नो अदम्य साहस, आपसी एकता र धैर्यताका कारण बिस्तारै पुरानै लयमा फर्कने प्रयास गरिरहेका छन्। खरानी भएका भग्नावशेषहरूमाथि फेरि नयाँ आशाका किरणहरू पलाउन थालेका छन् र बजार बिस्तारै बौरिँदै गएको छ।

बजार व्यवसायीहरुकाअनुसार आजको यो बन्द केवल एउटा शोक मनाउने माध्यम मात्र होइन, यसले बाम्का बजारका व्यवसायीहरू बीचको अभूतपूर्व एकता र जस्तोसुकै संकटमा पनि एकअर्कालाई साथ दिने बलियो सङ्कल्पलाई पुन: उजागर गरेको छ। भौतिक संरचनाहरू जलेर नष्ट भए पनि व्यवसायीहरूको आत्मबल र फेरि उठ्ने अठोटलाई आगोले जलाउन सकेन भन्ने सन्देश आजको यो ऐक्यबद्धताले दिएको छ।

चर्चामा

सम्बन्धित समाचार