सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा निर्वाचनको तयारी अन्तिम चरणमा

बाजुरामा निर्वाचनको तयारी अन्तिम चरणमा

  • सोमवार, फाल्गुन ११, २०८२
बाजुरामा निर्वाचनको तयारी अन्तिम चरणमा

टेक बहादुर बुढा/ फागुन ११ बाजुरा-– बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । सोमबार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचन र आम सञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत जिल्लामा चुनावको तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर शाहीकाअनुसार जिल्लामा निर्वाचनका लागि कर्मचारीलाई तालिम दिने र मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण बाहेक अन्य काम करिब सम्पन्न भइसकेका छन् । उनले अहिले मतपत्र र निर्वाचन सामग्री प्याकिङ गर्ने काम भइरहेको जानकारी दिए ।

May be an image of one or more people and text

जिल्ला निर्वाचन अधिकारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरु सहभागी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा मतदान गर्न पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै जिल्लामा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सबैलाई आव्हान समेत गरेका छन् । त्यस्तै उनले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको भन्दै आम मतदाताहरुमा निर्वाचन सम्बन्धी सकरात्मक सूचना र सन्देश प्रवाहमा सञ्चारकर्मीहरुले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । जिल्लामा केही दिनअघि निर्वाचनका लागि मतपत्रसहित आवश्यक निर्वाचन सामग्री समेत पुगिसकेको छ । जसमा समानुपातिक तर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणाली तर्फ ९४ हजार मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । त्यस्तै यो निर्वाचनमा मतपेटिका भने पुरानै प्रयोग गरिने भएको छ ।

May be an image of one or more people

निर्वाचनका लागि ७ सय ९ जना कर्मचारी खटाइने

आसन्न निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका एक सय १८ वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरेको छ । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलकाअनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृतसहित ६ जनासम्म कर्मचारी खटाइएको छ । त्यस्तै जिल्लाको एक मात्रै अस्थायी मतदान केन्द्रमा चार जना कर्मचारी खटाइएको छ ।
यस्तै निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यहीँ फागुन १४, १५ र १६ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले बताएका छन् ।

निर्वाचनको सुरक्षाका लागि संयुक्त गस्ती

जिल्लामा निर्वाचनको सुरक्षाका लागि आइतबारबाट सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्रमा अनुमगन तथा आमनागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनले जिल्लाभर निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको जानकारी दिए । विगतका निर्वाचनमा बाजुरामा हुने अशान्तिपूर्ण घटना रोक्ने तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा कडाइको तयारी भइरहेको छ । जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको बताएका छन् । जसअनुसार कुल मतदानस्थलमध्ये ८० दशमलव ५१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लामा निर्वाचनका लागि ४ सय बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी र ३ सय बढी नेपाली सेना परिचालन गरिने बताए । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ६० जना निर्वाचन प्रहरी समेत भर्ना गरिएको छ ।

त्यस्तै जिल्लाका ६९ वटै वडामा यहीँ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने तथा सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्ने उदेश्यले प्रत्येक वडामा एक/एक जना स्वंयसेवकहरू खटिएका छन् ।

बाजुरामा फागुन २१ को निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

May be an image of text

May be an image of text

चर्चामा

सम्बन्धित समाचार