• होमपेज
  • राजनीति
  • जनतासँग प्रत्यक्ष संवादमा एमाले बाजुरा, चुनावी अभियान सञ्चालन

जनतासँग प्रत्यक्ष संवादमा एमाले बाजुरा, चुनावी अभियान सञ्चालन

  • शनिबार, माघ १८, २०८२
जनतासँग प्रत्यक्ष संवादमा एमाले बाजुरा, चुनावी अभियान सञ्चालन

बाजुरा—नेकपा (एमाले) बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । एमालेले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने गरी शुक्रवार गौमुल गाउँपालिकाबाट चुनावी अभियान सञ्चालन गरेको हो ।

जिल्लामा एमालेबाट आगामी प्रतिनिधि सदस्य निर्वाचनका उम्मेदवार लाल बहादुर थापा, पार्टी केन्द्रीय सदस्य कर्ण बहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया सहितका नेताहरु एकसाथ सहभागी भएर चुनावी अभियान सुरु गरिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्लाका पालिका तथा बस्तीहरूमा पुगेर संगठन सुदृढीकरण, कार्यकर्तालाई सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित अभियान अघि बढाएको पार्टी जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् । उनका अनुसार गौमुलबाट सुरु गरिएको कार्यकर्ता भेटघाट तथा चुनावी अभियान शनिवार खप्तड छेडेदह गाउँपालिकामा गरिएको छ ।

भेटघाट कार्यक्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ । कार्यक्रममा बोल्ने नेताहरूले एमाले जनताको पार्टी भएको उल्लेख गर्दै जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्ने भन्दै पार्टीका उम्मेदवारलाई विजय गराउन सबै एकजुट हुने पर्नेमा जोड दिएका छन् । कार्यकर्ता भेटघाटका क्रममा स्थानीय कार्यकर्ताहरूले आफ्‌ना समस्या समाधान, विकासका सम्भावना र पार्टी संगठनलाई थप बलियो बनाउने उपायबारे आफ्ना सुझाव राख्दै सोही अनुसार अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा पराजय भोग्न बाध्य एमाले यसपटक जसरी पनि माहोल आफ्‌नो पक्षमा पार्दै विजय हासिल गर्ने दाउमा छ । जिल्लामा आगामी निर्वाचनका लागि एक स्वतन्त्रसहित ७ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार