• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापारसम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापारसम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

  • आइतवार, माघ ५, २०८२
हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापारसम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बाजुरा— हिमाली जडिबुटीहरूको संरक्षण, दिगो संकलन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरागढीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। UK International Darwin Initiative को आर्थिक सहयोगमा तथा TRAFFIC, ANSAB नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) को सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरूको संरक्षण र दिगो व्यापार” परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी व्यवस्था (CITES), हिमाली जडिबुटीहरूको स्रोत सर्वेक्षण, संकलन तथा दिगो व्यापारका प्रक्रिया, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। साथै Non-Detriment Findings (NDFs) लगायत आवश्यक प्राविधिक तथा कानुनी प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव दीर्घनारायण कोइराला तथा विशिष्ट अतिथि प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्ट रहेका थिए। कार्यक्रममा डिभिजन वन कार्यालय दार्चुला, बझाङ, बाजुरा र डडेल्धुराका डिभिजनल वन अधिकृत, वन अधिकृत, रेन्जरहरू तथा अपिनाम्पा संरक्षण क्षेत्रका रेन्जरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियामा एन्साब नेपालका वरिष्ठ वैज्ञानिक तथा जडिबुटी विज्ञ डा. दिपेश प्याकुरेलले प्रमुख औषधीय वनस्पति, CITES, NDFs र दिगो व्यापारका प्राविधिक पक्षबारे प्रस्तुति दिनुभएको थियो। त्यसैगरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र (FRTC) का निर्देशक राजकुमार गिरिले जडिबुटीहरूको वन स्रोत सर्वेक्षणका नयाँ कार्यविधिबारे प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले जडिबुटी संरक्षणका क्षेत्रमा पर्याप्त स्रोतसाधन र दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। एन्साब नेपालले सुदूरपश्चिमसहित हिमाली जिल्लामा गर्दै आएको स्रोत सर्वेक्षण, संरक्षण र दिगो व्यापारसम्बन्धी काम प्रशंसनीय रहेको बताउँदै स्थानीय प्राविधिक सशक्तीकरण र संरक्षण साझेदारीमार्फत खेती प्रविधि विकास गर्न सके दिगोपन कायम गर्न सकिने धारणा व्यक्त गरे।
डिभिजन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत परमानन्द कुवर र बझाङका डिभिजनल वन अधिकृत शम्भु तिवारीले आफ्ना जिल्लामा जडिबुटीसम्बन्धी विद्यमान समस्या, अवस्था र सम्भावनाबारे आ–आफ्नो अनुभव साझा गरेका थिए र अपिनाम्पा संरक्षण क्षेत्रका वरिष्ठ रेन्जर अनिलकुमार रामले हिमाली जिल्लामा वन्यजन्तु संरक्षणसँगै जडिबुटी कार्यक्रम सञ्चालन गर्दा स्थानीय समुदायको जीविकोपार्जनमा सकारात्मक प्रभाव पर्ने बताए
कार्यक्रमको समापनमा प्रदेश सचिव दीर्घनारायण कोइरालाले दिगो वन व्यवस्थापनका प्रमुख चुनौतीका रूपमा वन अतिक्रमण, वन डढेलो र अति चरनलाई उल्लेख गर्दै ती समस्याको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए। उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य गर्दै अध्ययनमा आधारित, जिम्मेवार र दीर्घकालीन दृष्टिकोणका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए।
सरोकारवाला निकाय, सरकारी कार्यालय र सहयोगी संस्थाहरू आ–आफ्नो तहबाट एकीकृत रूपमा लागे सुदूरपश्चिम प्रदेशमा जडिबुटीहरूको संरक्षण र संवर्धनमार्फत स्थानीय जीविकोपार्जनमा उल्लेखनीय योगदान पुग्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार