• होमपेज
  • राजनीति
  • बाजुराबाट प्रकाश र हेमराज चुनाव लड्दै, कांग्रेस–एमालेले अझै टुंग्याएन उम्मेदवार

बाजुराबाट प्रकाश र हेमराज चुनाव लड्दै, कांग्रेस–एमालेले अझै टुंग्याएन उम्मेदवार

  • शनिबार, माघ ४, २०८२
बाजुराबाट प्रकाश र हेमराज चुनाव लड्दै, कांग्रेस–एमालेले अझै टुंग्याएन उम्मेदवार

बाजुरा—बाजुराबाट चुनाव लड्न नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । स्रोतका अनुसार नेकपाबाट प्रकाश शाह र रास्वपाबाट हेमराज थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने पक्का भएको हो ।

एमाले छाडेर नेकपामा प्रवेश गरेका नेता शाह र सामाजिक अभियान्ता थापा पहिलो पटक प्रतिनिधिसभा सदस्य चुनाव लड्न लागेका हुन् । नेकपाका नेता शाह २०७४ सालको निर्वाचनमा बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट एमालेबाट निर्वाचित भएर सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री भएका थिए । उनले प्रदेशमा परीक्षण भए पनि प्रतिनिधिसभामा आफू नयाँ भएको र न्यायप्रेमी जनताले विश्वास गर्ने भन्दै कांग्रेस–एमालेको विरासत तोडेर संसद छिर्ने दाउका साथ चुनावी मैदानमा उत्रिदै छन् ।

त्यस्तै सामाजिक अभियान्ताका रुपमा आफ्‌नो छुट्टै परिचय बनाइसकेका थापा पनि युवाहरुको माग र साथ सपोटले नै रास्वपाबाट चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । रास्वापा जिल्ला कार्यसमिती बाजुराले राज बहादुर गिरीलाइ एकल सिफारिस गरेकाे भए पनि यता पार्टीले भने थापालाइ उम्मेद्धवार बनाएर अघी बढेकाे जनाएकाे छ ।  शाह र थापा दुवै बुढीगंगा नगरपालिकाका बासिन्दा समेत हुन् ।

त्यस्तै नेकपा र रास्वपाले जिल्लाबाट चुनाव लड्न उम्मेदवार अघि सारेर चुनावी मावल आफ्‌नो पक्षमा पार्ने तयारी थाले पनि नेपाली कांग्रेस र नेकपा एमालेले भने अझै उम्मेदवार टुंग्याउन सकेको छैन् । जिल्लाबाट एमालले चारै जना पार्टी केन्द्रीय सदस्यसहित ११ जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ भने कांग्रसेले पनि पूर्वमन्त्री जनक गिरीसहित ६ जना सिफारिस गरेको छ । निकट स्रोतका अनुसार एमालेले बाजुराबाट चुनाव लड्न केन्द्रीय सदस्य लाल बहादुर थापालाई नै टिकट दिने दावि गरिएको छ । उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा प्रदेशसभा (ख) मा कांग्रेसका पदम बहादुर शाहीसँग पराजित भएका थिए ।

त्यस्तै नेपाली कांग्रेसमा भने पार्टी केन्द्रमा देखिएको विवादले जिल्लामा पनि समस्या उत्पन्न भएको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएर निर्वाचन आयोगले समेत गगन समूहलाई नै पार्टीको मान्यता दिएको छ । उक्त समूहबाट बाजुराका जनक गिरी केन्द्रीय सदस्य भएका छन् । त्यस्तै कांग्रेस बाजुराबाट उम्मेदवारका लागि सिफारिस भएका शेर बहादुर देउवा समूहका कविराज पण्डित जसरी पनि चुनाव लड्ने पक्षमा देखिएका छन् । यसले कांग्रेसमा गगन समूहबाट गिरी र देउवा समूहबाट पण्डित दुई जना उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिने संकेत समेत देखिन्छ ।

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको बाजुरामा यसपटक कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदावरविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाबाट २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे एमालेका कर्ण थापालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आगामी निर्वाचनमा जिल्लामा कांग्रेस–एमाले आफ्‌नो विरासत जोगाउने प्रयासमा छन् भने नेकपा र रास्वपा दुई ठुला दलको विरासत तोडेर संसद प्रवेस गर्ने कसरतमा देखिन्छन् ।

यस्तै, आगामी फागुन २१ मा तोकिएको निर्वाचनका लागि जिल्लामा ७७ वटा मतदानस्थल, एक सय १८ मतदान केन्द्र तोकिएका छन् भने कुल ८७ हजार ८ सय ६१ मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार