
धनगढी—सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बिच एकता भएपछि सबैभन्दा ठुलो दल भएको हो ।
प्रदेश सभामा साविक माओवादीको सभामुख सहित ११ जना, एकीकृत समाजवादीको ४ जना र नाउपाको ७ जना सदस्य रहेका थिए । नेकपाले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँग पुस १४ एकता सहमति गरेको थियो ।
एकीकृत पार्टी बनेपछि प्रदेश सभामा नेकपाको २२ सिट पुगेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बन भएकाले अहिले २१ सिट छ । ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १८, नेकपा एमालेको ११, राप्रपा र स्वतन्त्रको एक/एक सदस्य छन् ।
पार्टी एकता भएपनि संसदीय दल एकीकृत हुने क्रममा रहेको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए । संसदीय दलको नेता खगराज भट्ट फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय हुने उनले जानकारी दिए । ‘समानुपातिक बन्दसूची मिलाउनका लागि खगराजजी काठमाडौँ जानुभएको छ । उहाँ फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय गर्नेछौँ’, उनले भने ।
तीन पार्टीका सदस्य मिलेर सबैभन्दा ठूलो दल बनेको नेकपा प्रदेश सभाको प्रमुख प्रतिपक्षी हो भने अहिले काँग्रेस र एमालेको गठबन्धन सरकार छ। राताेपाटी


