
बाजुरा—बाजुराकी विद्यादेवि तिमिल्सिना नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटिएकी छन् । कांग्रेसले निर्वाचन आयोगमा मंगलबार बुझाएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा तिमिल्सिनाको नाम समावेश भएको हो ।
यसअघि गृह जिल्लाबाट समानुपातिकमा सिफारिस भएकी तिमिल्सिना प्रदेशबाट समेत खस आर्य महिलातर्फ पिछडिएको क्षेत्रबाट एक नम्बरमा उनको नाम पेस भएको थियो ।
२०४२ सालमा बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधुमा जन्मिएकी विद्या नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत हुन् ।
वि.सं. २०५६ सालमा औपचारिक रूपमा नेपाल विद्यार्थी संघको सक्रिय सदस्य भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी तिमिल्सिना विद्यार्थी आन्दोलनमा लागेर युवाको आवाजलाई राजनीतिको केन्द्रमा ल्याउने अभ्यास गरेकी थिइन् । बाल्यकाल देखि नै सामाजिक काम, समाज सेवामा सक्रिय तिमिल्सिना राजनीतिक जीवनमा पनि सक्रिय छन् ।
२०६४ सालमा नेपाल विद्यार्थी संघ बाजुरा–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष भएर आर्थिक पारदर्शिता र संगठन विस्तारमा उदाहरण प्रस्तुत गरिन् । त्यसैगरी २०६५ सालमा नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य भएर राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचान र परम्परागत मूल्य संरक्षणमा योगदान दिइन् । उनी हाल पनि प्रजातान्त्रिक महासंघ महिला केन्द्रीय सदस्य, सास्कृतिक बिभाग प्रमुख सहित पार्टीका विभिन्न भूमिकामा रहेकी छन् । उनी भन्छिन्– “महिला भएर राजनीतिमा सक्रिय रहँदा आफूले अनेकौं अवरोध, शंका र पूर्वाग्रहहरू सहेर पनि कहिल्यै पछि हटेन, दृढ निश्चय थियो, महिला र पुरुषबीच बराबरी अवसर नदिइएसम्म समाज प्रगतिशील बन्न सक्दैन ।”
त्यस्तै नेपाली कांग्रेसले बाजुराकी विद्यासहित सुदूरपश्चिम प्रदेशबाट ११ जनाको नाम समावेश गरेको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा दुई–दुई जना बन्दसूचीमा पर्दा कांग्रेसले बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराएको छ ।
कांग्रेसको बन्दसूचीमा कैलालीका यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी, कञ्चनपुरका तौला राना र कल्पना केसीको नाम सिफारिस भएको छ । यस्तै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, प्रदेश सभापति वीरबहादुर बलाययरको गृहजिल्ला डोटीबाट प्रसिस महराको नाम बन्दसूचीमा छ । दार्चुलाका करवीरसिंह कार्की, बैतडीका दीपेन्द्रबहादुर बम, अछामका टेकबहादुर विक र बझाङका सुन्दर स्नेहीको पनि नाम बन्दसूचीमा समावेश छ ।
