• होमपेज
  • राजनीति
  • आफूखुसी समानुपातिक उम्मेदवार छान्दै एमाले

आफूखुसी समानुपातिक उम्मेदवार छान्दै एमाले

  • सोमवार, पुस १४, २०८२
आफूखुसी समानुपातिक उम्मेदवार छान्दै एमाले

नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीलाई प्रतिनिधिसभा सदस्यका लागि पार्टीले लमजुङबाट समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो। उम्मेदवार सिफारिस गर्दा न दवाडीसँग सोधपुछ गरियो न बैठक राखेर उम्मेदवार सिफारिसको निर्णय। एमाले लमजुङले शनिबार दवाडीसहित ८ जनाको नाम सिफारिस गरेपछि दवाडीले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।

‘मैले उम्मेदवार बन्ने आकांक्षा पनि राखेको थिइनँ। साथीहरूले मसँग सोधपुछ पनि नगरी सिफारिस गर्नुभएछ,’ उनले भने, ‘के आधारमा सिफारिस भएँ, मलाई थाहा भएन।’ जेनजी आन्दोलनपश्चात सत्ताच्युत हुन पुगेको एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइरहे पनि भित्रभित्र चुनावको तयारी गरिरहेको छ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सोमबारका लागि तोकिएको छ।सोही प्रयोजनका लागि एमालेले समानुपातिक उम्मेदवारको नाम जिल्ला जिल्लाबाट संकलन गरिरहेको छ।

यसअघिका निर्वाचनहरूमा एमालेले स्पष्ट मापदण्ड बनाएर उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटी र जिल्ला कमिटीलाई निर्देशन दिने गरेको थियो। यसपालि भने उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटी मात्र होइन, जिल्ला कमिटीको बैठक समेत नराखी नेताहरूले आफूखुसी उम्मेदवार सिफारिस गरिरहेको भन्दै एमालेजन बेखुस छन्।

लमजुङमा जस्तै कास्कीमा पनि उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटी बैठक नराखेको अध्यक्ष बैनबहादुर अधिकारीले बताए। यद्यपि, पार्टी जिल्ला कमिटी पदाधिकारी, नेताहरू र पालिका कमिटी प्रमुखसँग समन्वय गरेको उनले दाबी गरे। अधिकारीका अनुसार कास्कीबाट २१ जनाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ। जसमा महिला, दलित, जनजाति लगायत क्लष्टर छुट्याइएको छ।

यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्न चाहने नेता तथा कार्यकर्ताले पार्टीभित्र आन्तरिक रूपमा आफ्नो नाम उम्मेदवारका लागि पेस गर्थे। त्यसपछि जिल्ला कमिटी बैठकले निर्णय गरेर पठाउने गरेका थिए। कतिपय ठाउँमा चुनावी माध्यमबाट पनि एमालेले उम्मेदवार छान्ने गरेका थिए।

यसपालि भने पार्टीको जिल्ला अध्यक्ष वा प्रभावशाली नेताले आफूखुसी उम्मेदवारको नाम सिफारिस गर्ने, उम्मेदवार सिफारिस भएका व्यक्तिलाई समेत जानकारी नदिने र प्रत्यक्षमा उम्मेदवार बन्न चाहने नेतालाई समानुपातिकमा सिफारिस गरेर थन्क्याउने नीति लिएको भन्दै कतिपय नेता तथा कार्यकर्ता असन्तुष्ट छन्।

एमाले गण्डकीका अनुसार, पार्टी महासचिव शंकर पोखरेलले यसरी नै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको बताइएको छ। महासचिव पोखरेलले मौखिक रूपमा पार्टी प्रदेश अध्यक्ष नवराज शर्मा र कतिपय जिल्ला अध्यक्षलाई समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न भनेका थिए। महासचिव पोखरेलले भने बमोजिम नै सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्षहरू बताउँछन्।

गएका निर्वाचनहरूमा उम्मेदवार छनोट गर्दा पार्टीभित्र उसको योगदान, जनताबीच लोकप्रियता, अनैतिक गतिविधिमा संलग्न भए/नभएको हेर्ने गरेको पनि एमालेका एक जिल्ला अध्यक्षले बताए। यसपालि भने यस्ता कुनै पनि मापदण्ड नराखी पार्टी अध्यक्षले खल्तीबाट उम्मेदवार सिफारिस गरेको कतिपय उम्मेदवारहरूले नै बताउने गरेका छन्।

एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले पार्टी महासचिव पोखरेलसँग आफ्नो कुराकानी भएको र सोही अनुसार समानुपातिक उम्मेदवार सिफारिस गरेको बताए। ‘पार्टी महासचिवले अनौपचारिक रूपमा उम्मेदवार सिफारिस गर्न भनेपछि मैले जिल्ला अध्यक्षहरूलाई समानुपातिक उम्मेदवार सिफारिस गर्न लगाएको थिएँ,’ उनले सेतोपाटीलाई भने, ‘महासचिवले जिल्ला अध्यक्षहरूसँग पनि यसरी नै उम्मेदवार सिफारिस माग्नुभएको रहेछ।’

अघिल्ला निर्वाचनहरूमा उम्मेदवारको नाम प्रदेश कमिटीमा पनि पठाउने चलन रहे पनि यसपालि जिल्ला कमिटीले महासचिवलाई उम्मेदवारको नाम पठाएको उनले बताए। गण्डकीमा रहेका ११ जिल्लाबाट उम्मेदवार सिफारिस भएका नेता तथा कार्यकर्ताको नाम प्रदेश कमिटीमा नआएको पनि अध्यक्ष शर्माले बताए।

‘गण्डकीका ११ जिल्लाबाट कति जना समानुपातिक उम्मेदवार सिफारिस भए भनेर हामीलाई जानकारी आएको छैन,’ उनले भने, ‘जिल्लाले सिधै महासचिवलाई पठाउनुभएको छ।’ जिल्ला अध्यक्षहरूले खल्तीबाट उम्मेदवार सिफारिस गरेको विषयमा भने अध्यक्ष शर्माले अनौपचारिक छलफल भएको दाबी गरे।

‘पार्टीका जिल्ला अध्यक्षहरूले अनौपचारिक रूपमा कमिटीमा छलफल गरेर नै उम्मेदवार सिफारिस गर्नुभएको मैले बुझेको छु,’ उनले भने।पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाको लडाइँमा भए पनि निर्वाचनबाट नभाग्ने भन्दै उम्मेदवार सिफारिस गरेको अध्यक्ष शर्माले बताए। ‘प्रतिनिधिसभा पुनर्स्थापना एमालेको एजेण्डा हो, हामी त्यही लडाइँमा छौं,’ उनले भने, ‘निर्वाचन भइहाल्यो भने तयारी त गर्नुपर्‍यो नि भनेर उम्मेदवार सिफारिस भएका छन्।’

प्रतिनिधि सभामा रहने २७५ जना सांसदमध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट छनोट हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार ११० जना समानुपातिक उम्मेदवारको नाम सोमबार निर्वाचन आयोगमा पेस गर्नुपर्ने निर्वाचन कार्यतालिका छ। गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १८ वटा निर्वाचन क्षेत्र छन्।

अहिले समानुपातिकमा सिफारिस भएका उम्मेदवारले प्रत्यक्षमा दाबी गर्न नपाउने एमाले नेताहरूले बताउँदै आएका छन्। एमालेबाहेक अरू दलहरूले भने उम्मेदवार बन्न चाहने नेता कार्यकर्ताले नाम टिपाउने र उनीहरूलाई बैठकबाट निर्णय गरेर केन्द्रमा सिफारिस गरिरहेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले बैठक बसेर यसरी नाम सिफारिस गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक चुनावमार्फत उम्मेदवार छनौट प्रक्रिया अघि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार