
चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरेका छन् ।
चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । हिजोमात्रै भैरहवा कारगारबाट रिहा भएका लामिछाने लगत्तै भएको पहिलो सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूमाथि अन्याय भएको दोहोर्याए ।
‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’
सो क्रममा उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए ।
‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु । सिंगो देशलाई दुख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन । सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन,’ लामिछानेले भने ।
उनले थप भनेका छन्, ‘हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जसलाई जनताले अपदस्त गरे यिनीहरूको अगाडि के लड्नु ? हामी लड्ने त हामीलाई दिएको उपहारस्वरुप चढाएको भोक, शोक, जमिन, अशिक्षा, बेरोजगारीविरुद्ध लड्ने हो ।’
