
काठमाडौं —नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई घण्टा १५ मिनेटमा ३५० मतदान भइसकेको बताए ।
उनले भने, ‘यो मतदान सकिएपछि दुई घण्टामा नतिजा आउँछ । यही रफ्तारमा मतदान भए १० बजे अगाडि नै नतिजा आउँछ । महत्त्वपूर्ण प्रस्तावहरूलाई पनि पारित गरेर महाधिवेशनलाई आजै औपचारिक रूपमा समापन गर्ने दिशातिर गइरहेको छौँ ।’
मतदानस्थलको लागि आजसम्मको समय नभएको र आजको लागि पनि विशेष अनुरोध गरेर मिलाएकाले आजै सक्नुपर्ने बाध्यता रहेको बताए ।
उनले थपे, ‘मैले अहिले नै नतिजा भन्न मिलेन तर मतदान एकदम सकारात्मक भएर अगाडि गएको छ । चीट र मोबाइल लानको लागि निर्वाचन आयोगले बन्देज लगाएको छ ।’
निर्वाचन सहजकर्ता एवं अधिवक्ता प्रवल शर्माका अनुसार सुरूसुरूको तुलनामा मतदान गर्ने रफ्तार बढेको हो । ३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।
