• होमपेज
  • राजनीति
  • बाजुरामा कांग्रेसबाट पूर्वमन्त्री गिरीसहित ६ जना उम्मेदवार सिफारिस

बाजुरामा कांग्रेसबाट पूर्वमन्त्री गिरीसहित ६ जना उम्मेदवार सिफारिस

  • शनिबार, मंसिर २८, २०८२
बाजुरामा कांग्रेसबाट पूर्वमन्त्री गिरीसहित ६ जना उम्मेदवार सिफारिस

बाजुरा—बाजुरामा नेपाली कांग्रेसबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । शुक्रवार सदरमुकाम मार्तडीमा सम्पन्न पार्टीको बैठकले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बहादुर बडुवालले पार्टी जिल्ला सभापति, पूर्वमन्त्रीसहित ६ जनाको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको बताए । जसमा जिल्ला सभापति रामसिंह रावल, पूर्व भूमिसुधार सहायक मन्त्री जनक गिरी, पूर्व जिल्ला पार्टी सभापति कविराज पण्डित, नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल, गुरुदेव केसी (सुमन) र जगत बमको नाम सिफारिस गरिएको उनले बताएका छन् । पार्टी उपसभापति बडुवालले प्रत्यक्षतर्फ एक जना पाउने भए पनि ६ जनाले नै आकांक्षा राखेर निवेदन दिएपछि कुनै छलफल नै नगरी सिधैं केन्द्रमा सिफारिस गरिएको जानकारी दिए ।

पार्टी केन्द्रीय सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएपछि ६ जनाको नाम मात्रै सिफारिस गरिएको हो । सहमहामन्त्री पाण्डे २०७९ सालको निर्वाचनमा नेकपा एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने तत्कालीन एमाले कांग्रेसको गठबन्धनमा केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भइसकेका छन् ।

त्यस्तै, कांग्रेस बाजुराले प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ पनि ५ जनाको नाम सिफारिस गरेको छ । महा नेपाली, विद्या तिमिल्सेना, सुनिता गुरुङ, राधिका सिंह र निर्माला रावलको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार