आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • व्यवसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालनसम्बन्धी ७ दिने आवासीय तालिम सम्पन्न

व्यवसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालनसम्बन्धी ७ दिने आवासीय तालिम सम्पन्न

  • आइतवार, मंसिर २२, २०८२
व्यवसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालनसम्बन्धी ७ दिने आवासीय तालिम सम्पन्न

बाजुरा— बाजुराको सदरमुकाम मार्तडीमा आयोजना गरिएको व्यवसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालनसम्बन्धी ७ दिने आवासीय तालिम शुक्रबार एक विशेष समारोहबीच सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित Girls Get Equal 2.0 (आभा : किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि) परियोजना तथा बडीमालिका नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १३ गतेदेखि १९ गतेसम्म तालिम सञ्चालन भएको हो।

तालिममा बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाबाट १८ देखि २४ वर्ष उमेर समूहका ४० जना युवा तथा किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये २० जना बाख्रा पालन, १३ जना व्यवसायिक तरकारी खेती र ७ जना कुखुरा पालन समूहमा रहेका थिए।

सप्ताहव्यापी तालिममा सहभागीलाइ सैद्धान्तिक तथा व्यावहारिक दुवै विधिबाट सीप हस्तान्तरण गरिएको आयोजक संस्थाले जनाएको छ। बाख्रा पालनसम्बन्धी आधुनिक खोर सुधार, रोग नियन्त्रण, जात सुधार, कुखुराको सुली निर्माण, लोकल कुखुराको व्यवसायिक पालन, बेमौसमी तथा अफ–सिजन तरकारी खेती, नर्सरी व्यवस्थापन, जैविक मल तथा विषादी प्रयोग, बजार अभिमुखीकरणलगायतका विषयमा सहभागीहरूले प्रत्यक्ष अभ्यास गरेका थिए।

तालिमको सहजीकरण बडीमालिका नगरपालिका कृषि तथा पशु शाखा, कृषि ज्ञान केन्द्र बाजुरा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिकहरूले गरेका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले सीप–आधारित तालिमले स्थानीय युवालाई उद्यमशीलतामा प्रेरित गर्ने विश्वास व्यक्त गरे। “समाज र घरपरिवारमा शान्ति ल्याउन समृद्धि आवश्यक छ। समृद्धिको आधार व्यवसाय हो। सिकेको सीपलाई व्यवहारमा उतारेर बाजुरामै उदाहरणीय उद्यमी बन्नुहोस्, नगरपालिका सधैं तपाईंहरूको साथमा रहन्छ,” नगरप्रमुख खड्काले भने।

विशिष्ट अतिथि तथा नगर उपप्रमुख नन्दा थापाले तालिमलाई ‘ज्ञानको बीउ’का रूपमा व्याख्या गर्दै त्यसलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरिन्। “यो सीपलाई अहिलेै खेतबारी, गोठ र व्यवसायमा प्रयोग गर्नुहोस्। व्यवसाय सुरु गर्दा आउने समस्या समाधानमा नगरपालिका सधैं सहयोगी हुनेछ,” उपप्रमुख थापाले भनिन्।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि, पीसविन नेपालका महासचिव, कार्यक्रम प्रबन्धक तथा परियोजना संयोजकहरूले समेत शुभकामना तथा प्रोत्साहन व्यक्त गरेका थिए।

सहभागीहरूले तालिमले आफूहरूमा आत्मनिर्भर बन्ने विश्वास र ऊर्जा थपिदिएको उल्लेख गर्दै छिट्टै नै व्यवसायिक रूपमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमले जिल्लामा स्थानीय स्तरमै तरकारी, मासु र अण्डाको उत्पादन बढाउन, युवा–किशोरीहरूबीच रोजगारी सिर्जनामा टेवा पुग्न तथा आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार