शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • कर्ण थापालाई हात हाल्ने कृष्णसागर ‘बलात्कार’का मतियार, पाएका थिए दुई वर्षको सजाय

कर्ण थापालाई हात हाल्ने कृष्णसागर ‘बलात्कार’का मतियार, पाएका थिए दुई वर्षको सजाय

  • सोमवार, मंसिर १६, २०८२
कर्ण थापालाई हात हाल्ने कृष्णसागर ‘बलात्कार’का मतियार, पाएका थिए दुई वर्षको सजाय

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको माहोल तातिएका बेला आइतबार अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै आएका स्थायी कमिटी सदस्य कर्णबहादुर थापामाथि केन्द्रीय कार्याल च्यासलमै धक्कामुक्का भयो । आइतबार केन्द्रीय कार्यालय च्यासलमा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थापालाई ओलीको सुरक्षामा गुन्डुमासमेत तैनाथ युवाले धक्का मुक्का गरेको खुलेको छ।

ती अन्त कतैका नभएर एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङका भएको खुलेको छ। स्थायी कमिटी सदस्य थापलाई धक्का मुक्काको आँट गर्ने उनी अहिले ओलीका प्रिय बनेका नेता महेश बस्नेतनिकट रहेको उनको फेसबुक वालमा पोस्ट गरिएका तस्बिरले पुष्टि गर्छ।

उनी गत जेठमा पोखरामा भएको एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा अनुशासन आयोगको उपाध्यक्षमा समेत उठेको खुलेको छ । उनले युवासंघको महाधिवेशनताका केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा लडेको जानकारी दिन केपी ओली र शंकर पोखरेलको फोटोसहितको पोस्टर पनि बनाएका थिए ।

आइतबारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेता सहभागी हुँदा कर्ण थापा पनि मिसिए । ओलीसँगै च्यासलस्थित भवनको माथिल्लो तलमा उक्लिने क्रममा थापाले दुर्व्यवहार सहनुपर्‍यो त्यो पनि बलात्कार मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिबाट ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको माथिल्लो तलामा उक्लिने क्रममा थापालाई देखेपछि ओलीले कार्यक्रममा जाऊँ भन्दै इशारा गरेर बोलाएका थिए । ओलीले बोलाएपछि थापा पनि पछि लाग्न खोजे । तर त्यहाँ ओलीलाई घेरेर राखेकाहरूले थापालाई छेउ पर्न दिएनन् ।

थापालाई छेउ पर्न नदिई रोक्नेमा एकजना प्रेस चौतारीकै नेता पनि थिए । उनीसँगै थापालाई ओलीको छेउमा जान नदिई धक्का मुक्का गर्ने युवक महासचिव पोखरेलको गृहजिल्ला दाङको तुलसीपुर उपमहानगरपालिका-६ का कृष्णसागर वली रहेको खुलेको छ।

ओलीको सुरक्षा गार्ड बनेर अघिपछि लागिरहेका वलीले थापालाई कुहिनाले धकेलिदिँदा झन्डै लड्न पुगे । थापाले ओलीले सुन्ने गरी तत्कालै प्रतिकार गरे । ओली अगाडि बढिरहेका बेला वलीले धकेलिदिएपछि थापाले प्रतिकार गर्दा केही सेकेन्ड राम्रै विवाद भयो ।

च्यासलमा थापामाथि निलो ज्याकेट र चश्मामा देखिएका वलीले हातपात गर्दा ठूलै हो-हल्ला पनि भयो । वली सादा पोशाकका प्रहरीकै शैलीमा ओलीको स्कर्टिङमा खटिएका थिए । आफूलाई अपमानपूर्वक धकेलेपछि प्रतिरोध गरेका थापासँग वली फेरि हातपात गर्नै शैलीमा थर्काउनसमेत उत्रिए । उनै वली एमाले अध्यक्ष ओली च्यासल उत्रिँदा कारको ढोका खोल्नै पुगेको पनि भिडियोमा देख्न सकिन्छ ।

बलात्कार मुद्दाका मतियार

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको संरक्षणमा झापाका ओलीको सुरक्षामा तैनाथ दाङका वली कुनै बेला बलात्कार जस्तो जघन्य अपराधमा मतियारका रुपमा जेल सजाय सुनाइएका व्यक्ति हुन् । दाङमा २०६७ सालमा एक होटलबाट अपहरण गरी १८ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । उक्त बलात्कारका मुख्य अभियुक्तलाई सर्वोच्च अदालतले २०७९ जेठमा १६ वर्ष लामो जेल सजाय सुनायो ।

रुकुमको चुनवाङकी १८ वर्षकी लक्ष्मी आफ्ना केटा साथीसँग दाङको तुलसीपुरस्थित कृष्णसागर होटलमा बसेकी थिइन् । होटलमा हल्ला गर्दै बसेका १० जना युवाहरूले टेलिभिजनको आवाज ठूलो बनाएर माथिल्लो तलासम्म डिस्टर्ब गरेपछि लक्ष्मीका केटा साथीले होटल मालिकलाई भनेका थिए ।

होटल मालिकलाई पोल सुनाएको भनेपछि उनीहरू लक्ष्मीका केटा साथीमाथि खनिए । उनलाई घाइते बनाएर छाडेका उनीहरूले लक्ष्मीलाई अपहरण गरेर उठाए । त्यसपछि त्यसबेलाको तुलसीपुर नगरपालिका-५ र ९ को बीचमा पर्ने पातुखोला किनारमा लागेर उनीमाथि रातभर सामूहिक बलात्कार गरे। उक्त बलात्कार प्रकरणमा संलग्नमध्ये तीन जनालाई सर्वोच्चले २०७९ जेठ १२ गते १६ वर्षको कैद सजाय सुनायो ।

अन्तिम अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले दाङको साविक मानपुर गाविसका सुनील वली, बुद्धिप्रकाश केसी र यादव टन्डनलाई अपहरण र सामूहिक बलात्कारमा १६ वर्ष कैद कैद सजाय सुनाए । त्यसबेलाको मुलुकी ऐनअनुसार बलात्कारमा पाँच वर्ष, सामूहिक रूपमा उक्त अपराध गरेकाले थप पाँच वर्ष, अपहरणमा चार वर्ष र सामूहिक रुपमा उक्त कसुर गरेकाले थप दुई वर्षसहित ६ वर्षको कैद सजाय तोकियो ।

बलात्कारमा संलग्नम्धये दाङको मानपुरका चन्द्र बीएम र उरहरिका नवीन बस्नेत फरार थिए । तर त्यही मुद्दामा मुछिएकामध्ये एकजना थिए कृष्णसागर वली । त्यसबेलाको साबिक उरहरिका सचिन योगी, मानपुरका कृष्णसागर वली र मिनकेतन गिरीलाई पनि सर्वोच्चले दोषी ठहर गर्‍यो । वलीले सर्वोच्चको फैसलाअघि नै जिल्लाको फैसलाअनुसार सजाय भुक्तान गरिसकेका थिए ।

उनीहरूलाई सहयोगी (मतियार) को भूमिकामा दोषी ठहर गर्दै सर्वोच्चले जनही दुई–दुई वर्षको कैद सजाय तोक्यो । बलात्कारमा परेकी युवतीले कृष्णसागरसहित तीनजनाले आफूलाई अपहरण गर्न सघाएको बयान दिएकी थिइन् । सर्वोच्चले प्रमाण नपुगेको ठहरसहित मतियारका रुपमा कृष्णसागरसहित तीनजनालाई जनही २/२ वर्षको सजाय सुनायो । कर्ण थापालाई दुर्व्यवहार गर्नै उनै कृष्णसागर त्यो दुई वर्षको सजाय भुक्त गरेर छुटेका व्यक्ति हुन् ।

यी कृष्णसागरलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पनि पटक पटक पक्राउ गरेको खुलेकवो छ। अहिले राष्ट्रिय युवा संघमा लागेका उनी २०७९ को निर्वाचनका बेला नेपाली कांग्रेसमा थिए । अहिले उनै दाङका वली उता झापाका ओलीको सुरक्षामा तैनाथ छन् । बलात्कार मुद्दामा मतियारका रुपमा दोषी हुनु अघिबाटै कृष्णसागर विवादमा थिए । उनलाई २०७० असोज २१ दाङको तुलसीपुर नगरपालिकामा अर्को समूहले खुकुरी हानेको थियो ।

तुलसीपुर नगरपालिका-६ घोराही रोडस्थित सपना रेस्टुरेन्टअगाडि तुलसीपुर-५ निवासी २५ वर्षीय कृष्णसागर वली र २६ वर्षीय सुरज वलीमाथि ६/७ जनाको समूहले खुकुरी हानेको थियो । खुकुरी प्रहारबाट हात र खुट्टामा चोट लागेका दुवैजनाको तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचार नेपालगञ्जमा गरियो ।

सपना होटल अगाडि कृष्णसागर वली र सुरज वलीलाई खुकुरी र तरबार प्रहार गरेको घटनामा त्यसबेला दाङकै मानपुर–४ का प्रकाश बस्नेत पक्राउ परेका थिए । उनलाई प्रहरीले जेठ २९, २०७१ मा पक्राउ गरेको थियो । खवरहवबाट साभार 

चर्चामा

सम्बन्धित समाचार