
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले नेपाल टेलिकमको एनटी फाइबर नेट जडान गर्ने कार्यलाई तीव्रता दिएको छ । सेवा प्रवाहसँगै नागरिकहरुलाई सहज रुपमा इन्टरनेटमा जोड्ने लक्ष्यका साथ उच्च गति, दिगो र भरपर्दो इन्टरनेट सेवा जडान गर्न लागेको हो ।
करिब २ बर्ष अगाडि नै पालिका सहित केही वडामा एनटी फाइबर नेट जडान गरेको नगर सरकारले यस बर्ष थप बाँकी रहेका वडाहरुमा जडान गर्न लागेको जनाएको छ । यसअघि नगरपालिकाको कार्यालयसहित वडा नम्बर ४, ५ र ६ मा टेलिकमको उच्च गतिको एनटी फाइबर नेट जडान भइसकेको छ ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले घोषणा पत्र, नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम सबै गाउँमा इन्टरनेटको सुविधा पुर्याउन फाइबर नेट जडान गर्न लागिएको बताए । उनका अनुसार बुधवारबाट पालिकाको वडा नम्बर २, ३,७, ८, ९ र १० मा दिगो र भरपर्दो इन्टरनेट सेवा एनटी फाइबर नेट जडान कार्य सुरु गरिएको छ । नेपाल टेलिकम प्रदेश कार्यालय अत्तरीयाले पालिकासँगको सहयोग तथा समन्वयमा फाइबर नेट जडान कार्य सु्रु गरेको हो ।
यसअघि जनप्रतिनिधिहरुको निरन्तर प्रयासपछि टेलिकमको टोली आएर २०८१ बैशाखमा सबै वडामा सर्वेक्षण गरेको थियो भने लगत्तै पालिकासहित ३ वटा वडामा नेट जडान गरेको थियो । त्यस्तै अहिले बाँकी रहेका ६ वटा वडाहरुमा फाइबर नेट जडान गर्ने काम सुरु भएको र वडा नम्बर १ मा भने बल्दे हुदैँ खप्तड छेडेदहको लाइनबाट विस्तार गर्ने गरी टेण्डर समेत भइसकेको नगर प्रमुख बानियाँले जानकारी दिए । उच्च गतिको इन्टरनेट सेवा एनटी फाइबर नेट वडा कार्यालय हुदैँ स्वास्थ्य संस्था, विद्यालय सहित विस्तारै नगरभित्रका प्रत्येक घर–घरमा विस्तार गर्ने योजना रहेको बताएका छन् । स्थानीय सरकारको प्राथमिकता बमोजिम हरेक सरकारी कार्यालय सहित गाउँ स्तरमै उक्त इन्टरनेटको सुविधा पुगे अनलाइनबाट प्रवाह हुने सम्पूर्ण प्रशासनिक सेवाहरु छिटो र छरितो रुपमा हुने विश्वास लिइएको छ ।
