
बाजुरा– तीन महिनादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडकखण्ड खाेल्ने कार्य सुरु गरिएको छ । बर्षातमा विभिन्न ठाउँमा पहिरो तथा खोलाका कारण अवरुद्ध सडकखण्ड पुनः सञ्चालन गर्न लागिएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सहकार्यमा सडकखण्ड खोल्न सुरु गरिएको बताएका छन । उनले हाल बुढीनन्दाको डोजर प्रयोग गरेर सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरो हटाउँने कार्य भइरहेको भन्दै केही दिनमै सडक सुचारु हुने बताए ।
त्यस्तै, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले दसैँको मुखमा कुन्नाबासीले ५ वटा गाडीको यात्रा गर्नु पर्ने बाध्यता भएको भन्दै पहिरो हटाएर सडक सुचारु गर्न पालिकाको डोजर पठाएको बताएका छन् । सदरमुकामबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडकखण्ड यस अघि असार दोस्रो सातामा बर्षातले अवरुद्ध भएको थियो । सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएर यातायात सेवा अवरोध हुदैँ आएको छ ।
स्थानीयका अनुसार अहिले सडकखण्डको बडीमालिका ७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो तथा बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा सडकखण्ड अवरुद्ध भएको छ । यस बर्षको तीन महिना मार्तडी कोल्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएपछि यातायातसँगै सामान ढुवानीमा समेत समस्या भएको छ । यात्रुहरुले मार्तडी देखि कोल्टीसम्म पुग्न ५ वटा गाडी फेरेर जानुपर्ने बाध्यता छ । तर दसैँ सुरु भएसँगै अवरुद्ध सडकखण्ड खुलाउने कार्य पनि सुरु भएपछि आवतजावतमा सहजता हुने भएको छ ।
अहिले दसैँ–तिहार लागयतका चाडपर्व सुरु भएसँगै देशकाa विभिन्न सहर तथा रोजगारीका लागि भारत गएका नागरिकहरु धमाधम गाउँ फर्कन थालेका छन् । जिल्लाको पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लाका नागरिकहरु पनि सदरमुकाम मार्तडी हुदैँ सोही सडकखण्डबाट जाने गरेका छन् । आजबाट नेपालीहरुको महान चाड दसैँ सुरु भएको छ । यो अवधिमा मार्तडी कोल्टी सडक पूर्ण रुपमा सञ्चालनमा आएपछि त्याँहाका नागरिकहरुलाई गन्तव्य स्थानमा पुग्ने निकै सहजता हुने छ ।
