
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी’ पुस्ताले हिजो काठमाडौँसहित विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समस्याको दिगो समाधान वार्ता र संवादमार्फत खोज्न सरकार तथा राजनीतिक दललाई आह्वान गरेकी छिन्।
उनले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रहरीको गोली लागि असामयिक रूपमा ज्यान गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेकी छिन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छिन्।
भण्डारीले नवपुस्ताको भावना आत्मसात गर्दै उनीहरूले अघि सारेका जायज मागप्रति संवेदनशील हुन सरकार, जिम्मेवार राजनीतिक दल तथा सरोकारवालाहरूलाई आग्रह गरेकी छन्। ‘वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न आवश्यक छ,’ भण्डारीले भनेकी छन्।
पूर्वराष्ट्रपतिले हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर युवापुस्ताको विश्वास जित्ने कदम चाल्न पनि अपिल गरेकी छन्।


