
बाजुरा—बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्ला कारागारको अनुमगन गरेका छन् । यहीँ भदौ १३ गते जिल्लामा सरुवा भएर आएका प्रजिअ पौडेलले सोमवार कारागारको अवस्थाबारे अनुगमन गरेका हुन् ।
प्रजिअ पौडेलले अनुगमनपछि कारागारको सुविधा सम्पन्न भवन अभावमा कैदीबन्दीहरुले विभिन्न समस्या झेलिरहनु पर्ने बाध्यता रहेको बताए । जीर्ण र साघुँरो भवन हुँदा केही समस्या भएको भन्दै त्यसको सम्बोधन गर्न कारागार प्रशासनसँगै आफूले पनि पहल गर्ने बताए । त्यस्तै प्रजिअ पौडेलले जिल्ला कारागारको नयाँ सुविधा सम्पन्न भवन निर्माण भएपछि खानबस्न तथा सुरक्षामा समेत निकै सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले भने,“ सरकारले कारागारलाई सुधार शाला बनाउने नीति लिएको छ, सोही अनुसार भौतिक संरचना निर्माण गरिहरेको छ ।”
त्यस्तै जिल्ला कारागार प्रमुख जेलर अनिल तिवारीले नयाँ कारागार भवन निर्माण हुने भएसँगै कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भइरहेको बताए । कारागारको सुविधा सम्पन्न भवन निर्माण गर्न ठेक्का समेत भइसकेको भन्दै दसैं अगाडि नै कैदीबन्दीलाई सार्नु पर्ने अवस्था भएको बताए । उनका अनुसार अब महिला र पुरुष दुवै गरी ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण हुने छ ।
हाल करिब ४५ बर्ष पुरानो जीर्ण करागार भवनमा दोब्बर बढी कैदीबन्दीहरु कष्टकर रुपमा बसिरहेका छन् ।
याे पनि पढ्नुहाेस् ।
