शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा संगठन विस्तारलाई तीव्रता दिदैँ रास्वपा

बाजुरामा संगठन विस्तारलाई तीव्रता दिदैँ रास्वपा

करिब २५ सय बढीले सदस्यता लिएको दावि

  • सोमवार, भदौ १६, २०८२
बाजुरामा संगठन विस्तारलाई तीव्रता दिदैँ रास्वपा

बाजुरा—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुरामा पनि संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थापनाको छोटो समयमै राष्ट्रिय दल बनेको रास्वपाले पहाडी जिल्लामा समेत संगठन विस्तारका कार्यक्रमलाई जोड दिएको हो ।

रास्वपाले बाजुरामा पछिल्लो समय दिन प्रतिदिन पार्टी सदस्यता लिने संख्या बढ्दै गइरहेको दावि समेत गरेको छ । त्यस्तै पार्टीका आन्तरिक संरचनालाई थप मजबुत बनाउने, शुभेच्छुकलाई जिम्मेवारी दिने, जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ ।

रास्वपाले जिल्लामा अहिलेसम्म कुनै पनि पालिका र ४ वटा वडा बाहेक अन्य वडामा पार्टीको संगठन बनाउन सकेको छैन् । रास्वपाको सदस्यता लिने करिब ८० प्रतिशत सदस्यहरु जिल्ला तथा देश बाहिरै नभएकाले संगठन विस्तार गर्न नसकिएको बताएको छ ।

रास्वपा बाजुरा जिल्ला सभापति नवराज जैशीले जिल्लामा संगठन विस्तारको कार्यलाई तीव्रता दिइएको बताएका छन् । उनले पार्टीलाई जिल्ला हुदैँ पालिका तथा वडा स्तरमा संगठन विस्तार गर्ने तयारी भइरहेको बताए । उनले भने, “अहिले जिल्लामा संगठन विस्तारका लागि नेता तथा कार्यकर्तासँग अन्तरक्रिया तथा पार्टीका गतिविधि सञ्चालन बारेमा छलफल भइरहेको छ ।” जिल्लामा पार्टीको संगठन विस्तार गर्न सुरुमा अहिले सदस्यता लिने प्रक्रिया रहेको बताए । त्यस्तै, जिल्ला सभापति जैशीले अब यो दसैँ–तिहारको बीचमै पालिका तथा वडा स्तरमा संगठन विस्तार हुने बताए । अहिले त्यसका लागि तीव्र तयारी भइरहेको बताउँदै जिल्लाका सम्पूर्ण पालिका र वडामा बृहत भेला गरेर संगठन विस्तार गरिने जानकारी दिए । अब एक दुई महिनाभित्रै पालिका तथा वडाका पार्टी संगठन विस्तार गरेर त्यसपछि जिल्ला भेलाको तयारी थालिने बताए ।

अहिले पार्टी सदस्यता लिनेहरु पुराना दलबाट असन्तुष्ट मात्र छैनन्, नयाँ युवाहरु पनि रास्वपाप्रति आकर्षित रहेको उनले बताए । उनले तराईका जिल्लामा तुलनामा बाजुरा सहित पहाडी तथा हिमाली जिल्लाहरुमा पार्टी संगठन विस्तार गर्न सहज, जनताको उत्साह र आकर्षक धेरै नभए पनि सदस्यता लिनेको संख्या भने बढ्दै गएको उनले बताएका छन् । बाजुरामा केही महिनादेखि सदस्यता लिनेको संख्या समेत बढ्दै गएको दावि गरेका छन् । उनले २०८४ सम्म जिल्लाका रहेका वडा तथा टोल स्तरमा पार्टी संगठन विस्तार कार्य सम्पन्न गर्ने गरे पार्टीलाई थप बलियाे बनाउने गरी तयारी थालिएको बताए ।

पुराना दलहरुमा भविष्य नदेखिएको भन्दै फरक विकल्प रोज्दै युवाहरु रास्वपाको सदस्यता लिने गरेको नेताहरुले दावि गरेका छन् । त्यस्तै, रास्वपा जिल्ला सभापति जैशीका अनुसार जिल्लाका ६९ वटै वडाबाट सदस्यता लिएर पार्टीमा जोडिएका छन् । हालसम्म जिल्लामा करिब २५ सय बढीले पार्टी सदस्यता लिएका छन् । हालसम्मको तथ्यांकअनुसार जिल्लाको त्रिवेणी, जगन्नाथ र खप्तड छेडेदह गाउँपालिकामा बढी पार्टी सदस्य संख्या रहेका छन् । त्यस्तै, बुढीगंगा, बडीमालिका, बुढीनन्दा लगायत अन्य पालिकामा पनि सदस्यता लिनेको संख्या बढी रहेको जनाएको छ । रास्वपाले पार्टी सदस्यता लिनका लागि आफ्‌नै मोबाइल एप बनाएर स्वयम् व्यक्तिले अनलाइनबाटै सदस्यता लिन सकिने व्यवस्था गरेको छ । त्यस्तै, आफैँ सदस्यता लिन नसक्ने, नेटको समस्या भएकाहरुका लागि जिल्ला समितिले हरेक पालिकामा टोली बनाएर सहयोग गरिरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार