
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले आफ्नो पार्टीलाई सिद्ध्याउने षड्यन्त्रमा रहेकाले एकताको कुनै सम्भावना नभएको प्रस्ट पारेका छन्।
राष्ट्रिय एकता अभियानसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै एमालेसँग एकता हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।
उनले भने, ‘एमालेसँग एकताको कुनै सम्भावना छैन। अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ। त्यसप्रति लसपस कसैको छ भने आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन। यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ।’
उनले आफ्नो पार्टीलाई सिद्ध्याउने, समाप्त पार्ने ढङ्गले प्रहार भइरहेको बताए। उनले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई लक्षित गर्दै जिम्मेवारीमा बसेपछि त्यही अनुसारको आचरण हुनुपर्ने बताए।
उनले थपे, ‘पार्टीमा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ। पद ओगट्ने जिम्मेवारी लिने, तर पद अनुकूलको आचरण नगर्ने काम कसैबाट नहोस्।’
