
काठमाडौं— नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा बैठक बस्न लागेको हो । त्यसबाहेक पार्टीका अन्य जरुरी विषय पनि एजेन्डा बन्न सक्ने उनले बताए ।
पार्टी केन्द्रीय कार्यालयस्रोतले जनाएअनुसार बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुने भएको छ । ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र विभिन्न मत आएका सन्दर्भमा त्यसलाई बिहीबारको सचिवालय बैठकले हल गर्ने भएको हो ।
बिहीबारकै बैठकले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने भएको छ । ती बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन मस्यौदा, राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । अन्य प्रतिवेदन तयार नभएको र विधानमा उमेर र कार्यकालको विषय के गर्ने भन्ने विषयमा मात्रै बिहीबार छलफल हुने स्रोतले जनायो ।
पार्टी र जनसंगठनमा जिम्मेवारी दिने विषय पनि बिहीबारको बैठकको एजेन्डा रहेको छ । गत माघ महिनादेखि सम्पन्न हुँदै आएका विभिन्न जनसंगठनका महाधिवेशनपछि जिम्मेवारीमुक्त भएका र विभिन्न कारणले पार्टीबाहिर रही पार्टी काममा फर्किएका कार्यकर्तालाई जिम्मेवारी दिने गरी बैठकमा एजेन्डा प्रस्तुत हुने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सचिवालय बैठकबाट जिम्मेवारी दिने कि त्योभन्दा माथिल्लो तहको बैठकमा प्रस्ताव लैजाने भन्नेबारे अहिलेसम्म कुनै टुंगो नलागेको कार्यालय स्रोतले बतायो ।
