
बाजुरा—बाजुराको मार्तडी–कोल्टी सडकखण्ड करिब एक सातादेखि अवरुद्ध भएको छ । सदरमुकामबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडकखण्ड बर्षात सुरु भएसँगै अवरुद्ध भएको हो ।
मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरुले कतै गाडीमा त कतै पदैल गर्नुपर्ने बाध्यता छ भने सामान ढुवानीमा समेत समस्या भएको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार सडकखण्डको बडीमालिका ७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा थप समस्या भएको छ । सो सडकखण्ड विगतका बर्षमा पनि बर्षात सुरु हुने बित्तिकै अवरुद्ध हुदै आएको छ ।
त्यस्तै मार्तडी नजिकै बाउली खोलामा बर्षौदेखि पुल निर्माण कार्य अलपत्र छ भने अनाई खोलामा बनेको पुल समेत सञ्चालनमा आएको छैन् ।
ठाउँठाउँमा पहिरो र खोलाले सडकखण्ड अवरुद्ध भएपछि सवारी साधनहरु थन्किएका छन् भने आवतजावत नै ठप्प भएको छ । अहिले यात्रुहरुले मार्तडी देखि कोल्टीसम्म पुग्न ४/५ वटा गाडी फेरेर जानुपर्ने बाध्यता छ । त्यस्तै सडक अवरुद्ध भएपछि कतिपय खोलामा काठेपुल समेत नहुँदा पैदल हिड्न पनि समस्या हुने गरेको स्थानीय मनोज बोहराले बताए । उनले ठाउँठाउँमा पहिरोले सवारी साधन पनि वीच बाटोमा थन्किएको भन्दै तत्काल सडकखण्ड सञ्चालन गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
मार्तडी–कोल्टी सडकखण्ड सिलान्यास भएको झण्डै २७ बर्ष पुग्दा पनि स्तरोन्नति हुन सकेको छैन् । प्रदेश सरकारको बहुबर्षीय योजनामा रहेको उक्त सडकखण्ड स्तरोन्नति तथा कालोपत्रेमा ढिलासुस्ती हुँदा बर्षातमा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।
त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकायसँग पहल भइरहेको बताए ।
