
काठमाडाैं – गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भएको स्पष्टीकरण दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको थियो । उजुरीबारे गृहमन्त्रालयले समेत गृहमन्त्रीको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको छ ।
स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने गृहमन्त्रीको पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
शुक्रबार अभियन्ता युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरी दर्ता गराएका थिए । उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।
