
बाजुरा– बाजुरा जिल्लामा हालसम्म ८५ हजार बढी मतदाता संख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले बुधवार जिल्लाभरका ९ वटै पालिकाका ६९ वटा वडाहरुको मतदाता विवरण सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले अध्यावधिक गरेको मतदाताहरुको विवरण अनुसार जिल्लामा हालसम्म ८५ हजार ९ सय ७८ जना कुल मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयले २०८१ चैत्र मसान्तसम्मको जिल्लाभरको वडागत मतदाता विवरण अध्यावधिक गरेको जनाएको छ । त्यस्तै सो विवरणअनुसार सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा रहेको छ । बुढीगंगा नगरपालिकामा १४ हजार ५ सय ३० मतदाता रहेका छन् । त्यसैगरी, खप्तड छेडेदह गाउँपालिकामा १२ हजार ४ सय २६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
यस्तै, बडीमालिका नगरपालिकामा १० हजार ३ सय ६५ मतदाता रहेका छन् । बडीमालिका नगरपालिका सदरमुकाम समेत रहेको पालिका हो । त्यस्तै त्रिबेणी नगरपालिकामा ११ हजार ८ सय ६६ मतदाता रहेको तथ्यांकमा उल्लेख गरिएको छ । बुढीनन्दा नगरपालिकामा ११ हजार २ सय ८१ मतदाता छन् । गौमुल गाउँपालिकामा ६ हजार १ सय ७१ मतदाता छन् ।
जिल्ला निर्वाचन कार्यालयको तथ्याकं अनुसार जगन्नाथ गाउँपालिकामा ५ हजार ५ सय ७८ मतदाता, स्वामिकार्तिक खापर गाउँपालिकामा ७ हजार ५ सय १५ मतदाता रहेका छन् भने हिमाली गाउँपालिकामा ६ हजार २ सय ४६ मतदाता रहेका छन् ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालय बाजुराले अध्यावधिक गरेको मतदाता विवरणमा केही मृतकहरुको संख्या घटेको र नयाँ थप भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले बताएका छन् ।
