आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • समाचार
  • रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त

रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त

  • आइतवार, कार्तिक ४, २०८१
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो ।

कास्की जिल्ला अदालतका ६ जना न्यायाधीश शुक्रबार बिदामा थिए । नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हतारहतार पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाब कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

यसअघि गत असोज ६ गते गोर्खा मिडिया प्रालिकै पूर्वसञ्चालक पूर्व डिआइजी छविलाल ओझालाई पक्राउ गरेर पोखरा ल्याउँदा नै रविसमेत पक्राउ पर्न लागेको भन्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । सहकारी पीडितले पनि रविलाईसमेत पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै शहीद चोककै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दा केही समय पीडित र समर्थन आमने–सामने भएका थिए ।

पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

शुक्रबार पनि दुवै पक्ष आमने–सामने हुँदा सुरक्षा चुनौती हुनसक्ने भन्दै पीडितलाई कुनै पनि प्रदर्शन नगर्न भनिएको थियो । रास्वपाले मानव अधिकार चोकमा प्रदर्शन गरिरहँदा केही सहकारी पीडित भने जिल्ला प्रहरी कार्यालय कास्की बाहिर जम्मा भएका थिए । तर, आफूहरुकै जाहेरीका आधारमा रवि पक्राउ परेकाले पनि अहिले प्रदर्शन नगर्ने सहकारी पीडितहरुको भनाइ थियो ।

रास्वपाका नेता–कार्यकर्ताले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका रविलाई पक्राउ गरी कांग्रेस, एमालेले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सहप्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, तोसिमा कार्कीलगायतले रवि पक्राउको मूल्य सरकारलाई चर्को पर्ने चेतावनी दिएका छन् ।

सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ उठाउन आफूहरुले आवाज उठाइरहेको तर सरकार ५ करोडको पछाडि लागेर संलग्न नै नभएका रविलाई पक्राउ गरेको उनीहरुको भनाइ छ । उनीहरुले एमालेलाई जग्गा दान गर्ने मिनबहादुर गुरुङको मुद्दा विषयान्तर गर्न, सहकारी ठगीमा संलग्न कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेललाई जोगाउन रविलाई पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

सूर्यदर्शन सहकारीबाट रवि पूर्व प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा ५ करोड रुपैयाँ गएको देखिएको छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर पीडितहरुले पुरक जाहेरी दिएका थिए ।

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् । यसअघि पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाललाई दशैं विदा अघिको १७ गतेलाई आधार मानेर शुक्रबार २० दिन म्याद थप भएको छ । उनी पनि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमै छन् ।

पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी अर्को प्रतिवेदन तयार गरिएको थियो । गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए । २०८० भदौ २१ गतेसम्म संस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । साथै ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार