• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्‍चिमको संमृद्धि पर्यटन र कृषिबाटै सम्भव छ : उपप्रधानमन्त्री खड्का

सुदूरपश्‍चिमको संमृद्धि पर्यटन र कृषिबाटै सम्भव छ : उपप्रधानमन्त्री खड्का

  • शुक्रबार, पुस २७, २०८०
सुदूरपश्‍चिमको संमृद्धि पर्यटन र कृषिबाटै सम्भव छ : उपप्रधानमन्त्री खड्का

टीकापुर — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्‍चिम प्रदेशलाई पर्यटन र कृषिको माध्यमबाट संमृद्ध बनाउन सकिने बताएका छन् । उनले दुईतिर छिमेकी मुलुकसँग सीमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी सुदूरपश्चिमलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको बताए ।

शुक्रबार सुदूरपश्‍चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिममा अत्यन्तै ठुलो आर्थिक सम्भावना रहेको बताए ।

‘यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत् आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ। यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ,’ उनले भने, ‘कर्णाली प्रदेश सँग-सँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु ।’

उनले सुदूरपश्चिमको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्‍चिम सेती, पञ्‍चेश्वर, रानीजमरा-कुलरिया सिँचाई, चमेलिया जलविद्युत, दोधारा-चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

‘भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्‍चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ। यी आयोजनाहरु निर्माण भएपछि यो क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्‌घाटित हुने र रोजगारीका लागि विदेशिनु पर्ने स्थितिको अन्त्य हुनेछ,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार