• होमपेज
  • राजनीति
  • गोदावरीमा राजधानी घोषणाको पाँच वर्षः मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

गोदावरीमा राजधानी घोषणाको पाँच वर्षः मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

  • शनिबार, अशोज १३, २०८०
गोदावरीमा राजधानी घोषणाको पाँच वर्षः मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

धनगढी–  केहि समयअघि डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानी सार्न सकिने सन्देशसहितको अभिव्यक्ति दिए। उनले भनेका थिए, ‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुङ्ग्याउने पक्षमा छौँ। एक पटक संघीय सरकारसँग यहाँको सबै यथार्थ परिस्थितिबारेमा जानकारी गराउँछौँ।
संघीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ। यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ।’ मुख्यमन्त्रीले नै यस्तो धारणा सार्वजनिक गरेपछि ५ वर्षसम्म पनि कानुनी जटिलताले स्थायी राजधानीमा भौतिक संरचना निर्माण हुन नसकेको अवस्थामा राजधानी नै सार्ने कि भन्ने बहस पुनः तातेको छ।

मुख्यमन्त्री शाहले पनि राजधानी निर्माणमा धेरै ढिला भएकाले अब यसको निकास दिने प्रस्ट पारेका थिए। सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो। दुई तिहाइ बहुमतले सो स्थानलाई स्थायी राजधानी घोषणा गरी १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो।

प्रदेश सरकारले राजधानीका लागि चाहिने जग्गा भोगाधिकारका लागि केन्द्रीय वन मन्त्रालयमा फाइल पेस गरेको थियो। तर वन मन्त्रालयले भोगाधिकार नदिँदा पनि निर्माणको कार्य अगाडि बढ्न सकेको छैन्। त्रिलोचन भट्ट नेतृत्वको तत्कालीन सरकारले राजधानी पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाउन केही आर्थिक वर्ष बजेटसमेत विनियोजन गरेको थियो।

तर कानुनी जटिलताका कारण बजेट कार्यान्वयनमा गएन। आव २०७७/७८ का लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको लागि २ करोड ७४ लाख बजेट विनियोजन गरिएको थियो। त्यसअघि पनि आव २०७६/७७ मा २ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

हाल प्रदेश राजधानी निर्माणको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमाथि थपिएको छ। तर सत्तारुढ दल माओवादी केन्द्रसहितका दलहरुसँग मुख्यमन्त्री शाहले अहिलेसम्म राजधानीको विषयमा छलफल भने गरेका छैनन्। प्रदेश राजधानी कार्यान्वयनका लागि यसैअघि नै गोदावरीका युवाहरुले सो क्षेत्रमा स्थायी राजधानी अंकित साइन बोर्ड नै राखेको भए पनि कार्यान्वयनको टुंगो भने अझै लागि सकेको छैन्। स्थायी राजधानी घोषणा भएको आज ठिक पाँच वर्ष पुगेको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार