काठमाडौं — सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कामचलाउ सरकारमा परिणत गरिदिएको छ ।
प्रदेश सरकारलाई कुनै महत्त्वपूर्ण निर्णय नगर्न सर्वोच्चले आदेश दिएको छ ।
यसअघि साउन ११ गते सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक भएको ठहर गरेको थियो । सभामुख बाबुराम गौतमले मतदान गरेर बहुमत पुर्याएको भन्दै अदालतले थापा नेतृत्वको सरकार असंवैधानिक ठहर गरेपछि थापाले पुन: भदौ ४ गते विश्वासको मत लिएका थिए ।
सभामुख गौतमले राजीनामा दिएर थापालाई मतदान गरेका थिए । तर सत्ता गठबन्धनकै सांसद इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरी थापालाई मतदानसमेत गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार गरेको आदेशमा सभाको अध्यक्षता गरेको व्यक्तिले मुख्यमन्त्रीलाई मतदान गर्नु संविधानविपरीत भएको ठहर गरिएको छ ।