काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै विपद् व्यवस्थापनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले उद्दार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार रातिदेखि निरन्तर वर्षाका कारण देशका अधिकांश स्थान डुबानमा परेका छन् । बाढी र पहिरोमा परी मानवीय क्षति पुगेको छ भने कयौं परिवार विस्थापित भएका छन्।