सोलुखुम्बु-– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पहिलो पटक अनुगमन भएको छ । सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुको नेतृत्वमा पहिलो पटक खुम्बु क्षेत्रमा अनुगमन गरेको कार्यालय प्रमुख सुजनकुमारी बर्देवाले बताइन् । होटल, खाजा घर, बेकरी क्याफे, किराना पसल, स्नुकर हाउस, अस्पताल, क्लिनिक र ट्रेकिङ एजेन्सीको अनुगमन गरिएको हो ।
नाम्चे बजार तल पहिला पनि अनुगमन भए पनि नाम्चे बजार माथि ३५ सय मिटर माथि सगरमाथा वेश क्याम्पसम्म भने पहिलो पटक बजार अनुगमन भएको खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।
सीमा प्रशासन कार्यलयको नेतृत्वमा रहेको अनुगमन टिममा इलाका प्रशासन कार्यलय नाम्चे र गाउँपालिकाको प्रतिनिधिको सहभागिता छ । नाम्चे भन्दा माथि रहेका क्याङ्जुमा, सनसा, लौसासा, फुङ्गिथाङ्गा, त्याङ्बोचे, दिबुचे, मिलुङ्गो, पाङ्बोचे, सोमारे, थुक्ला लोबुचेमा र फेरिचेमा अनुगमन गरिएको थियो ।
त्यस्तै ५ हजार मिटर माथि रहेका गोरक्सेप, सगरमाथा आधार शिविरमा पनि अनुगमन गरिएको सीमा प्रशासन कार्यालयले जनाएको छ । सगरमाथा आधार शिविरमा रहेका ट्रेकिङ्ग एजेन्सीको समेत पहिलो पटक अनुगमन गरिएको छ ।
खुम्बु क्षेत्रमा रहेका होटल, पसलहरु कसरी सञ्चालन भए नभएको तथा व्यवस्थापनका बारेमा कहिल्यै अनुगमन भएको थिएन् । समय समयमा अनुगमन हुँदा व्यवसायी सचेत हुने र पर्यटकले राम्रो सेवा पाउने स्थानीयबासिन्दा जाङगु शेर्पाको अपेक्षा छ ।
अनुगमन टोलीले १८६ भन्दा बढी पसल, होटल, ट्रेकिङ्ग एजेन्सीको अनुगमन गरेको हो । किराना पसल दर्ता नभएको, दर्ता भएका पनि नवीकरण नभएको पाइएको अनुगमन संयोजक बर्देवाले वताईन् । होटलमा मेनु भए नभएको, होटलमा खान बस्नको व्यवस्थापनको बारेमा अनुगमन गरेको र व्यवसायीलाई सचेत गराएको उनले बताइन् ।
खाद्यवस्तुमा म्याद भए नभएको र खाद्य सामग्री व्यवस्थापमा समेत अनुगमन भएको थियो । यो वर्ष सगरमाथा क्षेत्रमा पर्यटकहरु घुइँचो बढेकाले आफूहरुले सुरक्षा सतर्कता पनि बढाएको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख प्रहरी निरीक्षक शम्भु बस्नेतले बताए ।
‘यो क्षेत्रमा कुनै अप्रिय घटना नहोस भनेर प्रहरी समेत बढाएका छौं, समन्वय सम्पर्क समेत बढाइरहेका छौं,’ उनले भने, ‘केही समस्या तथा जोखिम भएमा राज्यको तत्काल उपस्थित हुने व्यवस्था मिलाएका छौं ।’