
धनगढी– नेपाली काँग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायरले वनमा पार्टी कार्यालयको भवन शिलान्यास गरेका छन्। उनले बुधवार गोदावरी नगरपालिका वडा नम्बर १ को सुरक्षा सामुदायिक वनमा काँग्रेस पार्टी कार्यालयका लागि भवनको शिलान्याश गरेका हुन्।
डिभिजन वन कार्यालय धनगढीले वैशाख १८ गते गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडा महिला सामुदायिक वन र बडीमालिका सामुदायिक वनमा बनाइएका ५ सय भन्दा बढी घर टहरामा डोजर चलाएको थियो। तर दोस्रो दिन पूर्व मन्त्रीसमेत रहेका काँग्रेस प्रदेश सभापति एवं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य बलायरले सामुदायिक वनमा नेपाली काँग्रेसको विपी स्मृति भवन बनाउन शिलान्यास गरेपछि बिरोध भएको हो।
नेपाली काँग्रेसले वनमा पार्टी कार्यालयको शिलान्यास गरेसँगै यो कामको सर्वत्र आलोचना भएको छ। सुकुम्बासी तथा भूमिहीनका टहरामा एक दिन अगाडि डोजर चलाउने तर आफैं कानूनको धज्जी उडाउँदै वनमा पार्टी कार्यालय बनाउने काम गलत भएको नेकपा एमालेका गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले बताए। उनले जनप्रतिनिधि नै वन मास्न लागेको आरोप लगाएका छन्। बलायरले गोदावरी नगरपालिका वडा नम्बर १ को सुरक्षा महिला सामुदायिक वनभित्र नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रीय पार्टी कार्यालय भवनको शिलान्यास गरेका उनको आरोप छ।
तर नेपाली काँग्रेसका क्षेत्रीय सभापति बसन्त रोकायाले विपी स्मृति केन्द्रका लागि भवन निर्माण थालिएको बताए। उनले पार्टीको कार्यालय नभएको दाबी गरे। काँग्रेसले विभिन्न कार्यक्रम गर्दै आएको ठाउँमा १५ लाखको लागतमा टहरो निर्माणको काम सुरु भएको दाबी उनको छ। राजनीतिकरण गर्न खाजिएको रोकायाले बताए। सुदूरपश्चिम प्रदेश सरकारको १५ लाखको बजेटमा भवन निर्माणको काम सुरु भएको हो।


