शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्‌को पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्‌को पहुँच बाहिर

  • शुक्रबार, असार ५, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्‌को पहुँच बाहिर

सुदूरपश्चिम प्रदेश जलस्रोतको धनी मानिन्छ । यहाँका ठुला नदीनालाबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाका बिच पछिल्लो समय उत्पादनमा उल्लेख्य वृद्धि पनि भएको छ । चमेलिया जस्ता ठुला आयोजना र निजी क्षेत्रका कालंगा तथा अपि हाइड्रोले राष्ट्रिय प्रसारण लाइनमा निरन्तर बिजुली थपिरहेका छन् । करिब १३५ मेगावाट भन्दा बढी विद्युत् उत्पादन भइरहेको यस प्रदेशमा अझै पनि ६० हजारभन्दा बढी घरपरिवार टुकी, दियालो र सल्लाको भरमा रात काट्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जगतबहादुर चन्दका अनुसार प्रदेशमा विद्युतीकरणको अवस्था ८८ प्रतिशत पुगेको छ । बाँकी १२ प्रतिशतमा विद्युतीकरण हुन अझै बाँकी छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा हालसम्म ६० हजार ७८७ घरपरिवार विद्युत् सेवाबाट पूर्ण रूपमा वञ्चित छन् । यी घरधुरीमा न त राष्ट्रिय प्रसारण लाइनको तार पुगेको छ, न सोलार वा लघु जलविद्युतको उज्यालो नै ।

अहिले डिजिटल युगमा पनि यी ६० हजार परिवारका बालबालिका साँझ परेपछि उज्यालो देख्न पाउँदैनन् । उनीहरूको दैनिकी दियालो सल्लाको काठ, टुकी वा टर्च लाइटको उज्यालोमा सीमित छ ।

प्रादेशिक कार्यालयको तथ्याङ्क हेर्दा विद्युत् पहुँचको दायरा भने फराकिलो हुँदै गएको देखिन्छ । कार्यालय प्रमुख चन्दका अनुसार हालसम्म सुदूरपश्चिममा विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ४ लाख १७ हजार ७९४ पुगेको छ । यी घरधुरीले राष्ट्रिय प्रसारण लाइनमार्फत् सिधै मिटर जडान गरेर बिजुली बालिरहेका छन् ।

यसका साथै प्रसारण लाइन पुग्न नसकेका ठाउँहरूमा वैकल्पिक ऊर्जाको प्रयोग भइरहेको छ । सोलार तथा साना लघु जलविद्युत् आयोजनाहरूबाट सेवा लिने घरधुरीको सङ्ख्या ८३ हजार ९५६ छ ।

प्रदेशका ८८ वटै स्थानीय तहमा कुनै न कुनै रूपमा विद्युतको पहुँच पुगेको छ । स्थानीय तहमा पुग्नु र हरेक नागरिकको घरमा पुग्नु फरक कुरा हो । स्थानीय तहको केन्द्र वा सुगम वडामा बत्ती पुगे पनि दुर्गम वडाहरू अझै अँध्यारोमै छन् । शतप्रतिशत विद्युतीकरण हुन नसक्दा ती ८८ स्थानीय तहका कुना–कन्दराका बस्ती अझै टुकीकै भरमा छन् ।

सुदूरपश्चिममा विद्युतको माग र आपूर्तिको अवस्था हेर्दा उत्पादन पक्ष सबल बन्दै गएको छ । हाल प्रदेशभित्र कुल उत्पादनमध्ये निजी क्षेत्रको योगदान सरकारी उत्पादनभन्दा तीन गुणा बढी छ ।

सरकारी तवरबाट हाल ३१ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसमा दार्चुलामा रहेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना मुख्य हो भने बाँकी १ दशमलव ६ प्रतिशत साना तथा मझौला माइक्रो हाइड्रोबाट उत्पादन भइरहेको छ ।

यसको ठिक विपरीत निजी क्षेत्रले सुदूरपश्चिमको ऊर्जा क्षेत्रमा क्रान्ति नै ल्याएको छ । हाल निजी क्षेत्रका आयोजनाहरूबाट १ सय ३ दशमलव ८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालंगा हाइड्रो, अपि हाइड्रो, दार्चुला लगायतका आयोजनाहरूले उत्पादन भएको यो बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गरी राष्ट्रिय प्रसारण लाइनमार्फत प्रवाह गरिरहेको छ ।

यसरी हेर्दा प्रदेशभित्रै करिब १३५ मेगावाट बिजुली उत्पादन हुन्छ । आफ्नै आँगनको खोलाबाट उत्पादन भएको बिजुली तारमा बगेर अन्यत्र जान्छ । त्यही खोलाको किनारमा बस्ने स्थानीय भने अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको विद्युतीकरणबाट वञ्चित स्थानीयको गुनासो छ ।

उत्पादन राम्रो भए पनि वितरण प्रणाली र पूर्वाधार विस्तारमा भएको ढिलासुस्तीले नागरिकले यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् ।

विद्युत् प्राधिकरणले अबको दुई वर्षभित्र सुदूरपश्चिमलाई पूर्ण उज्यालो बनाउने लक्ष्य राखेको छ । प्रादेशिक प्रमुख चन्दका अनुसार आगामी दुई वर्षभित्र बाँकी रहेका ६० हजार घरधुरीमा पनि विद्युत् पुर्‍याउने गरी काम भइरहेको छ ।

‘अहिले हामी ८८ प्रतिशत विद्युतीकरणको अवस्थामा छौँ, बाँकी ठाउँमा पनि प्रसारण लाइन विस्तारको काम द्रुत गतिमा अघि बढेको छ,’ उनले भने ।

दुर्गम भौगोलिक बनावट, सडकको असुविधा र बजेट विनियोजन जस्ता चुनौती भए पनि प्राधिकरणले ती ६० हजार परिवारमा विद्युत् विस्तारको काम गर्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार