काठमाडौं – राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्। उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ। आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन्। पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ। उनी आठ दलका साझा उमेदवार छन्।
उमेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए। निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुनेछ। सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए। प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।