• होमपेज
  • समाचार
  • कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

  • सोमवार, कार्तिक १४, २०७९
कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुने जनाएका छ । आयोगले आइतबार यस्तो बताएको हो ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि ६८ दलले निवेदन दिएकोमा सबै प्रक्रिया पूरा गर्दा ४७ दल मात्र कायम भएपछि निर्वाचन चिन्ह त्यसै अनुसार तय गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह लिएका छन् ।

त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएका छन् । त्यस्तै सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिन्ह लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहने व्यवस्था रहेको छ ।

यस्तै प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको संख्या फरक फरक पर्ने आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिन्ह रहने आयोगको भजाइ छ । आयोगका अनुसार प्रदेश नं. १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेश गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्हसमेत रहने भएको छ ।

जसअनुसार प्रदेश नं. १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुने छ । त्यस्तै मधेश प्रदेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । प्रदेश नं. १ मा बन्दसूचि बुझाउने दल भने ३६ मात्र रहेका छन् । त्यस्तै मधेश प्रदेशमा ३६, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्दसूची पेश गरेका छन् । कर्णाली प्रदेशमा निर्वाचनमा सहभागिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो । त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेश सभामा प्रदेश नं. १ बाट ३७ जना, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार