• होमपेज
  • राजनीति
  • बझाङ निर्वाचन:ओखेडा र सिंहको भिडन्तमा कस्ले मार्ला बाजी

बझाङ निर्वाचन:ओखेडा र सिंहको भिडन्तमा कस्ले मार्ला बाजी

  • शनिबार, कार्तिक ५, २०७९
बझाङ निर्वाचन:ओखेडा र सिंहको भिडन्तमा कस्ले मार्ला बाजी

अर्थ जङ शाही/ बझाङ — बझाङको संसदीय निर्वाचनमा पहिलो पटक दलित उम्मेदवार प्रत्यक्ष निर्वाचनको मुख्य प्रतिस्पर्धामा छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र नं १, मा एमालेका तर्फबाट उम्मेदवार बनेका अफिलाल ओखेडा र सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका पृथ्वीबहादुर सिंहबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

दलित समुदायका ओखेडा ०७० मा समानुपातिक कोटामा संविधानसभा सदस्य भएका थिए । उनी लामो समय मानवअधिकारको क्षेत्रमा काम गर्दै राजनितिमा प्रवेश गरेका हुन् । हाल उनी एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इर्न्चाज छन् ।
कांग्रेसका पूर्व पार्टी सभापतिसमेत रहेका सिंह गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भैरवबहादुर सिंहको निकटतम प्रतिद्वन्द्वी थिए । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मत अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका सिंहलाई पराजित गरेका थिए । एमालेले ३४ हजार ६ सय १२ मतप्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए । यस पटक भागबन्डा गर्दा प्रतिनिधिसभाको सिट नेकपा एसको भागमा परेपछि कानुन व्यवसायीसमेत रहेका सिंहले प्रदेश रोजेका हुन् ।

यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने ठानिएको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा दुवैले आफू विजयी हुने दाबी गर्दै आएका छन् । बझाङको संसदीय निर्वाचनकै इतिहासमा आफू प्रत्यक्ष निर्वाचनमा होमिन पाउने दलित समुदायको पहिलो व्यक्ति भएको र संविधानसभा सदस्य हुँदा जिल्लाको विकासका लागि महत्त्वपूर्ण काम गरेका कारण आफूलाई मतदाताले विश्वास गर्ने ओखेडाको दाबी छ । ‘मैले संविधानसभा सदस्य हुँदा जिल्लाको विकासमा महत्त्व राख्ने सडक सञ्जाल, जलविद्युत्का आयोजना अहिले साकार हुँदै छन् । राष्ट्रिय प्रसारण लाइन यहाँ पुर्‍याउन, एयरपोर्ट पिच गर्न मैले नै पहल गरेको हुँ,’ ओखेडाले भने, ‘सामाजिक न्यायका दृष्टिले र मैले प्रस्तुत गरेको बझाङ विकासको खाकाका आधारमा मलाई मतदाताले अत्यधिक मतले विजय गराउनेछन् ।’ उनले २०२८ सालदेखि हालसम्म भएका विभिन्न निर्वाचनमा बझाङबाट १४ जनाले प्रतिनिधिसभा, संविधानसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधित्व गरेको बताउँदै त्यसमा सबै गैरदलित समुदायका व्यक्ति मात्रै रहेकाले यस पटक दलितलाई अवसर दिने विश्वास व्यक्त गरे ।

यता उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका पृथ्वीबहादुर सिंहले ओखेडाभन्दा दोब्बर बढी मतले आफू विजयी हुने दाबी गरे । ‘प्रत्यक्षमा नजिते पनि संविधानसभा सदस्यको रूपमा उहाँ एक पटक परीक्षण भइसकेको व्यक्ति हो । म नयाँ छु र मसँग जिल्लाको विकासका लागि नयाँ कार्यक्रम पनि छन्,’ सिंहले भने, ‘मैले आफ्नो सम्पूर्ण जीवन बझाङमा बिताएकाले यहाँका जनता मलाई राम्रोसँग चिन्छन् पनि । यी सबै कारणले उहाँभन्दा डबल बढी मत ल्याएर जित्छु भन्ने विश्वास छ ।’ उनले गठबन्धनको मत पनि एमालेको भन्दा बढी रहेको र मतदाताको आकर्षण पनि पुरानाभन्दा नयाँ उम्मेदवारप्रति रहेकाले आफू विजयी हुने बताए । प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का प्रत्यासी उम्मेदवार छन्

चर्चामा

सम्बन्धित समाचार