• होमपेज
  • समाज
  • नेताको भोट बैंक मात्र बन्दै बाजुराकाे मुक्तीकाेट गाउँ

नेताको भोट बैंक मात्र बन्दै बाजुराकाे मुक्तीकाेट गाउँ

  • मङ्लबार, चैत्र ८, २०७८
नेताको भोट बैंक मात्र बन्दै बाजुराकाे मुक्तीकाेट गाउँ

बाजुरा — २०५८ वैशाखअघि यो गाउँको नाम ‘डुमकोट’ थियो । सुदूरपश्चिममा ‘डुम’ शब्द दलितहरूलाई होच्याउनका लागि प्रयोग हुन्छ । सरकारी अभिलेखहरूमा यो गाउँको नाम अहिले पनि डुमकोट नै छ । ०५८ वैशाखपछि परिवर्तित नाम मुक्तिकोट नै अहिले बढी प्रचलनमा छ । यसको श्रेय तत्कालीन द्वन्द्वरत माओवादीलाई जान्छ । ‘दलित मुक्ति मोर्चाका कार्यकर्ता आएर अब तपाईंहरूको मुक्तिका दिन नजिक आइसके । देशमा गणतन्त्र आउँछ । हामीजस्ता गरिब र दलितको सबैभन्दा पहिला मुक्ति हुन्छ । आजबाट यो गाउँको नाम मुक्तिकोट भयो भनेर उनीहरूले नै यो नाम राखेका हुन्,’ स्थानीय बाजे विकले भने ।

माओवादीले नाम फेरेसँगै गाउँको अवस्था पनि फेर्ने सपना देखाए । मुक्तिको सपनाले सदियौंदेखि गरिबीको दुश्चक्रमा परेका यहाँका युवालाई लोभ्यायो । डुमकोट मुक्तिकोट मात्रै नभएर माओवादीको आधार इलाकामा बदलियो । कालापहाडको मजदुरी गर्ने, मालिकको हलो जोत्नेदेखि ऋण काढेर गुजारा गर्नेहरूले पनि माओवादीलाई साथ दिए ।

केही युवा मुक्तिको सपना पूरा गर्नका लागि युद्धमा समेत होमिए । यसैक्रममा कालीकोटको थिर्पुमा तत्कालीन शाही सेनाको गोली लागेर २० वर्षीय ओब्ज विक मारिए । युद्धमै हिँडेका २५ वर्षीय हरि विक बेपत्ताको सूचीमा छन् । उनकै साथ लागेर हिँडेका १७ वर्षीय पान्जन विकको अत्तोपत्तो छैन । उनी अहिलेसम्म पनि बेपत्ताको सूचीमा परेका छैनन् न त आश्रित परिवारले नै केही राहत पाएको छ ।

दैनिकजसो गाउँमा आएर मुक्तिका कुरा गर्ने माओवादी नेताहरूको आगमन २०६४ को संविधानसभा निर्वाचनपछि यो गाउँमा पातलिन थाल्यो । माओवादी सरकारमा गएपछि नमस्कार गर्दै खाना खान आउने नेताहरू नमस्कार गर्दा पनि नफर्काउने अवस्थामा पुगे । ‘तम्रै मुक्तिका लागि लडेका हौं । हाम्रो सरकार आए छि तम्रा दुःखका दिन जान्छन् भनेर खुब भाषण गर्थे,’ स्थानीय देवराज विकले भने, ‘तिनै नेताहरू अहिले गाडी मोटरसाइकल हुइक्याउँदै हिँड्छन् । हामीले बिहानबेलुका अघाउन्जी भात खान पाएका छैनौं ।’

अरू पार्टीका नेताहरू चुनावका बेलाबाहेक आउँदैनथे । खानेपानी दिने, रोजगारी दिएर आफ्नै खुट्टामा उभ्याउने सपना देखाउँथे । उपचार नपाएर कसैले मर्न नपर्ने व्यवस्था गछौं भन्थे । केही पढेलेखेकालाई जागिरको प्रलोभन दिन्थे । बदलामा मुक्तिकोटवासीहरू नगदमै भोट दिन्थे । यो क्रम अझै पनि चलिरहेको छ ।

मुक्तिकोटवासीको मत पाएर एमाले नेता हिक्मतबहादुर शाही, कर्णबहादुर थापा, लालबहादुर थापा संघीय संसद्मा पुगे । कर्ण थापा मन्त्री पनि भए । यस्तै प्रकाश शाह र बलदेव रेग्मी प्रदेशसभा सदस्य निर्वाचित भए । शाह करिब चार वर्ष सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिलामन्त्री समेत भए । कांग्रेसबाट दुई पटक प्रतिनिधिसभामा पुगेका देवराज जोशी अहिले सुदूरपश्चिम प्रदेश प्रमुख छन् । कांग्रेसबाटै प्रतिनिधिसभामा पुगेका जनकराज गिरी भूमिसुधार राज्यमन्त्री पनि भए । माओवादीका कर्णबहादुर विक र डबल शाह संविधानसभा सदस्य भए । विक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री पनि भए । आफूले मत दिएका नेता पदमा पुगे, आफ्ना समस्या समाधान होलान् भन्ने सोचेका मुक्तिकोटका बासिन्दाले नेताहरूको अनुहार पनि देख्न पाएका छैनन् । ‘अहिले पनि चुनावका बेला भोट माग्न त सबै आउँछन् । चुनाव सकिएपछि कसैले मुख देखाउँदैन्,’ स्थानीय सुनपुरी विकले भनिन् ।

स्थानीय सरकार आएपछि समस्या समाधान होला भन्ने आशा गरेका उनीहरूको दैनिकीमा अहिले पनि कुनै परिर्वतन आएको छैन । ‘अब त सिंहदरबार गाउँमै आयो । प्रधानमन्त्री रोजगार कार्यक्रम आयो कोही बेरोजगार हुँदैन भनेर रेडियोले भनेको सुन्छौं,’ स्थानीय गोर्खे कामीले भने, ‘हाम्रो लागि सरकार नै छैन कि क्या हो ? यहाँ केही पनि आएन ।’

स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले भने स्थानीय सरकार आइसकेपछि यहाँ थुप्रै परिर्वतन भएको बताए । सुक्खा ठाउँ, पहिरोको जोखिम, छरिएर रहेको बस्ती भएका कारण भनेजस्तो काम गर्न नसकिएको र मुक्तिकोट गाउँ गरिबीमा रहेको जनाउँदै उनले यहाँको बस्ती स्थानान्तरण गरेपछि मात्रै उनीहरूले मुक्ति पाउने बताए । ‘केही नभएको भन्ने होइन । सडक, खानेपानी, स्वास्थ्य चौकी हामी आए पछि बनाएका हौं । आवश्यक पर्दा अन्य सबै खालका सहयोग गरेका छौं,’ उनले भने, ‘त्यो गाउ नै खडेरीको चपेटामा छ । पहिरो छ । उब्जाउ जमिन छैन । जनसंख्या बढ्दै गएकोले अब घर बनाउन पनि ठाउँ नपुग्ने अवस्था छ । मैले त बस्ती स्थानान्तरणको विकल्प देखेको छैन ।’

स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी मनपुजा कामी २२ वर्ष टेकिन् । पाँच वर्षअघि हिरामनी कामीसँग विवाह बन्धनमा बााँधिएकी उनको दुई सन्तानमात्रै जन्माउने चाहना छ । दुई सन्तानको रहर पूरा गर्न उनले तीन वर्षमा तीनवटै शिशुलाई जन्म दिइन् । अहिले उनको साथमा एउटी छोरी मात्रै छिन् ।

चैत ५ मा भेट्दा ६ दिनकी सुत्केरी उनको काख भने रित्तै थियो । जन्माएको भोलिपल्टै सन्तान गुमाएको शोकले गलेकी उनी आफ्नो दुःख खुलेर सुनाउन सक्ने अवस्थामा थिइनन् । सुत्केरी गोठको ढोकामा बसेर टोलाइरहेकी उनको अनुहारको रङ फुङ्ग उडेको थियो । थाकेका आँखाले गाउँपारिपट्टिको मनिकाँडा लेकतिर एकटकले हेरिरहेकी थिइन् ।

यही गाउँकी २२ वर्षीया रमिता विककी छोरीको पनि जन्मेको पाँच दिन नबित्दै फागुन १५ मा निधन भयो । उनले गुमाएको यो दोस्रो सन्तान हो । माघ २३ मा २४ वर्षीया आमा दुमली विकले १२ दिनको छोरा गुमाइन् । उनले गत वर्ष मंसिरमा तीन महिने छोरी गुमाएकी थिइन् ।

सन्तान गुमाउने सबैले एउटै कारण बताए– दूध नआउनु । ‘पेटभरि खान पाया पो दूध आउँदो हो,’ दुमलीले भनिन्, ‘निस्तै भात र रोटा पनि निकोरी खान पाउँदैनौं, काबाट दूध आउनू ?’ महिना पुगेर जन्मिसकेपछि मृत्यु हुने बालबालिकाको तुलनामा प्राकृतिक रूपमै गर्भपतन हुने (गर्भ तुहिने) समस्या झन् चर्को भएको स्थानीय महिलाले बताए । ‘जन्मिएर मर्ने बच्चाभन्दा गर्भ नै खेर जाने पनि कति छन्,’ आफ्नो मात्रै चारपटक गर्भपतन भएको बताउने ४० वर्षीया मरु विकले भनिन्, ‘सालकै दुई/तीन चोटि गर्भ खेर गएका महिला पनि धेरै छन् ।’

यहाँ उल्लेख गरिएका प्रसंगमात्रै मुक्तिकोट गाउँमा सन्तान गुमाएका आमाको विवरण दिन पर्याप्त छैनन् । साविकको साप्पाटा गाविस–९ मा पर्ने मुक्तिकोट बाजुराको यस्तो गाउँ हो, जहाँ कुनै घरमा यस्तो आमा भेटिँदैनन् जसले सन्तान नगुमाएको होस् । ३२ वर्षको उमेरमा १२ पटक गर्भवती भएर चार वटा सन्तान गुमाइसकेकी जनसरा विक भन्छिन्, ‘यै गाउँमा बच्चा खड (खेर) नगयाकी बैकिनी (महिला) त को हुन्नी (को होलिन् ?) कसैका त ७/८ बच्चा पनि खड गयाका छन् ।’ २०७८ असारयता मात्रै यो गाउँका १५ बालबालिकाको मृत्यु भइसकेको छ । यसरी ज्यान गुमाउनेमा जन्मेको १ दिने शिशुदेखि १५ वर्षसम्मका किशोरी छन् । (यो तथ्यांक रिपोर्टिङका क्रममा सन्तान गुमाएका आमाबाबुलाई भेटेर संकलन गरिएको हो ।)

साविकको साप्पाटा गाविस–९ मा पर्ने गैरा, मेला, नाउला, खोली, चुँइकेडाडा, माझवाडा, खोलासा, भैइसाखाली, काडेडिल, मुक्तिकोट र रल्क्या टोलमा ३ सय ९४ बढी परिवार दलित समुदायको बसोबास छ । सरकारका निकायले यहाँ भइरहेको बालमृत्युको समाधानको पहल गर्नु त परै जाओस्, तथ्यांकसमेत राखेको छैन । सबै गाउँमा पुगेर तथ्यांक संकलन गर्ने हो भने यो वर्षमात्रै ज्यान गुमाएका बालबालिका र किशोरकिशोरीको संख्या योभन्दा दोब्बर हुन सक्ने स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि प्राविधिकसमेत रहेका मुक्तिकोटका स्थानीय बलबहादुर विकको भनाइ छ । ‘दिन, साता बिराएर कसै न कसैका बच्चा मरेकै हुन्छन्, यस्तो रेकर्ड कसैले राखेको छैन, रेकर्ड राखेर साध्य पनि छैन,’ उनले भने, ‘सबै टोलमा गएर बुझ्ने हो भने त यो वर्षमात्रै ३०/४० जना बालबालिका मरिसके होलान् ।’

यहाँ मृत्यु भएका बालबालिकाको तथ्यांक कसैले पनि राख्ने नगरेको मुक्तिकोटस्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख उमेश शाहीले बताए । ‘त्यस्तो रेकर्ड त कसैले राख्ने गरेको छैन, टोलटोलमा गएर बुझ्ने हो भने सबै डाटा आउन सक्छ,’ उनले भने । उनले मुक्तिकोटमा कुपोषणको अवस्था भयावह रहेको र कुपोषणकै कारण बालबालिकाले ज्यान गुमाइरहेको जनाउँदै स्थानीयको लापरबाहीका कारण उपचार गराउन समस्या भइरहेको बताए । ‘हामीले एक महिनाअघि मात्रै ४० जना बच्चाको कुपोषण जाँच गर्दा ३६ जना कुपोषित भएको भेट्यौं, तीमध्ये १५ जनामा त निकै कडा खालको कुपोषण छ । समयमै उपचार पाएनन् भने आजभोलि नै मृत्यु हुन सक्छ,’ उनले भने, ‘उपचार गर्न मार्तडी (सदरमुकाम) जाऊ भन्दा मान्दैनन् । मार्तडी पठाउँछन् भन्ने डरले धेरैजसो जाँच गर्न पनि आएनन् ।’ उनले यो गाउँमा २ सयभन्दा बढी ५ वर्षमुनिका बालबालिका रहेको र सबैजसो कुपोषित भएको बताए ।

यहाँको कुपोषणको अवस्थाबारे अध्ययन गरेको खाद्य अधिकारसम्बन्धी काम गर्ने संस्था फियान नेपालको अध्ययन प्रतिवेदनले पनि यहाँका बालबालिका मात्रै नभएर ९५ प्रतिशत महिला र किशोरकिशोरीसमेत कडा खालको कुपोषणबाट पीडित रहेको उल्लेख छ । अध्ययनका क्रममा पोषणयुक्त खाना र स्वच्छ पिउने पानीको अभावमा यहाँका मानिसहरू कुपोषित हुन पुगेको, प्रत्येक वर्ष सरदर ४८ जना बालबालिका, किशोरकिशोरी र आमाहरूको कुपोषणकै कारण मृत्यु भइरहेको भए पनि राज्यले समस्या समाधानको लागि कुनै पहल नगरेको पाइएको अध्ययनको निष्कर्ष रहेको फियान नेपालको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले पनि मुक्तिकोटमा कुपोषणको अवस्था विकराल रहेको र यसमा स्वास्थ्य क्षेत्रले पहल गरेर मात्रै समस्या समाधान नहुने बताए । ‘त्यहाँको अवस्था हेर्न र सुन्न नसकिने खालको छ तर स्वास्थ्यले मात्रै गरेर केही हुने वाला छैन,’ उनले भने, ‘हामीले त कुपोषणको अवस्था जाँच गर्ने, पोषिलो खाना खानुस् भनेर सल्लाह दिने हो तर उनीहरूलाई खानेकुरा नै छैन भने कहाँबाट पोषिलो खान्छन् ?’

अत्यन्तै सुक्खा र भिरालो ठाउँमा रहेको यस गाउँमा खेतीपाती हुन छोडेको धेरै वर्ष भइसक्यो । यहाँका स्थानीयले भएको जग्गामा खेती गर्न कोसिस नगरेका पनि होइनन्, बर्सेनि पर्ने खडेरीले उत्पादन शून्य हुन थालेपछि आफूहरूले दुःख गर्न छोडेको स्थानीय धन विक बताउँछन् । ‘खेती नलगाएको होइन । खडेरीले गर्दा कहिले लगाएको बीउ नै नउम्रिने, उम्रिहाले पनि गह्रामै सुक्न थाले,’ उनले भने, ‘लगातार ८/१० वर्षसम्म एक गेडो अन्न उब्जिएन । त्यसपछि बीउ छर्नै छोडिदियौं ।’

१० वर्ष पहिलासम्म हिउँदमा हिउँ पर्ने भएकाले सानोतिनो उब्जनी हुने गरेको तर हिउँसमेत पर्न छोडेसँगै खेतीपाती गर्न छोडेको उनले बताए । ‘बर्खामा कसैकसैले कोदो लगाउँछन्, पानी पर्‍यो भने एक–दुई महिना खाने उब्जनी हुन्छ, पानी परेन भने त्यो पनि खेतमै सुक्छ,’ उनले भने ।

यो गाउँमा साग तरकारी, फलफूल केही पनि उब्जनी हुँदैन । ठाउँठाउँमा पहिरो खसेका कारण यहाँका दर्जनौं घर जोखिममा छन् । गाउँमा रोजगारीको उपाय केही नभएका यहाँका प्रायः घरका युवाको एक मात्रै रोजगार गन्तव्य भारत हो । १५ वर्षमाथिका युवा गाउँमा भेटिँदैनन् । उनीहरू भारतको राजधानी दिल्ली, उत्तराखण्डको पौडी, गडवाल, देहरादून, नैनीताल, अल्मोडा, रानीखेत, पिथौरागढ, बागेश्वरलगायत ठाउँमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । ‘कोहीकोही त परिवार बालबच्चा लगेर ५/६ वर्षदेखि उतै बसेका छन्,’ स्थानीय नरे कामीले भने, ‘यहाँ बसेर खान पुग्दैन । उतैबाट कमाएको पैसाले पेट पाल्ने हो । त्यसले पनि पुगेन भने क्रण काढेर खान्छौं । जसरी पनि बाँच्नु त पर्‍यो ।’

चरम गरिबीको भुङ्ग्रोमा पिल्सिरहेको यो गाउँका बासिन्दाले विकासका आधारभूत पूर्वाधारसमेत नभएको बताए । यो गाउँबाट कालीकोटको सीमा दल्बाले बिसौनासम्म पुग्ने सडक केही महिनाअघि मात्रै निर्माण भएको छ । यद्यपि यहाँ नियमित सवारीसाधन चल्न थालेका छैनन् । ‘कोही मोटरसाइकल गाडी ल्याएर आउँछन्, पैसा हुनेहरू कोल्टीबाट २०/२५ हजारमा जिप रिजर्भ गरेर पनि आउँछन्,’ स्थानीय ढुल्की विकले भनिन्, ‘हामी आगो बाल्न सलाई किन्न पनि पैसा नपाउनेहरू केले गाडी चढ्नु ? गाडी गुडेको हेर्दै रमाउने मात्रै हो ।’ उनले स्थानीय दैनिक उपभोग्य सामान किन्नका लागि अहिले पनि दुई दिन हिँडेर जगन्नाथ गाउँपालिकाको पिलुचौर जाने गरेको बताइन् ।

यो गाउँमा सबैभन्दा ठूलो समस्या खानेपानीको छ । १ सय ६० परिवारको बसोबास रहेको मुक्तिकोट टोलका स्थानीयको पिउने पानीको एउटा मात्रै धारा छ । त्यहाँ बिहानदेखि बेलुकासम्म पानी भर्नेको ताँती हुन्छ । अन्य टोलकाले परम्परागत कुवा वा खोलाको अशुद्ध पानी पिउने गरेका छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले यहाँ गत असारमा मात्रै खानेपानी योजना निर्माण गरेको थियो तर साउनमा पिपलधार भन्ने ठाउँमा आएको ठूलो पहिरोले मुहानका सबै संरचना बगाएपछि स्थानीयको शुद्ध पानी पिउने सपना पनि पहिरोसँगै बगेको छ ।

गाउँमा आधारभूत स्वास्थ्य इकाइ छ । दुई वर्षअघि स्थापना भएको स्वास्थ्य इकाइमा पर्याप्त औषधि नहुने र सबै रोगको उपचार नहुने भएकाले स्थानीय रोग पालेर बस्न बाध्य छन् । ‘गाउँको स्वास्थ्य चौकीमा कहिलेकाहीं सिटामोल पनि पाइँदैन । ठूलो रोग लाग्यो भने धनगढी नेपालगन्ज जानुपर्छ,’ ४० वर्षीया छाटा विक भन्छिन्, ‘हामी बिहान साँझ खाना खाने पैसा त पाउँदैनौं । जहाज चढेर उपचार गर्नलाई कहाँबाट खर्च पाउनू ?’

यो गाउँमा उमेर नपुग्दै विवाह गर्ने चलन छ । प्रायः महिलाहरू १३/१४ वर्षकै उमेरमा विवाह गरेर १५/१६ वर्षमा पहिलो बच्चा जन्माइसक्छन् । ‘गाउँमा २० वर्षपछि विवाह गर्ने महिला नै भेटिँदैनन्,’ १४ वर्षमा बिहे गरेर १६ नपुग्दै एक छोरीलाई जन्म दिइसकेकी मनमिला विकले भनिन्, ‘ढिला बिहे गर्‍यो भने तिम्रो दामलका सबैले बिहे गरिसके । तिमीले पनि गर्नुपर्छ भनेर भन्छन् ।’ उनले छिटो विवाह गर्नका लागि परिवार र छिमेकीबाटै दबाब आउने गरेको बताइन् । मुक्तिकोटको दुरवस्थाको बारेमा चित्रण गर्दै उनले भने, ‘त्यहाँ समस्या के छ भन्दा पनि के समस्या छैन भनेर खोज्नुपर्ने अवस्था छ ।’

यो गाउँको गरिबीको अवस्थाबारे छुट्टै अध्ययन कसैले पनि गरेको छैन । तर गरिब घर परिवार पहिचान बोर्डले तयार गरेको प्रतिवेदनले स्वामिकार्तिक खापर गाउँपालिकाको ७५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि देखाएको छ । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनमा बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको र बाजुरालाई नेपालको सबभन्दा गरिबको कोटिमा राखेको छ ।

कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार