बाजुरा– प्रेस चौतारी नेपाल बाजुराले २४ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । स्थापना दिवसको दिन माघ २२ गते विहान बाजुरा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण सहीतका गतिविधी गरेर दिवस मनाएको हो ।
विरामीको स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण लगत्तै चियापान कार्यक्रम गरेको चौतारी बाजुरा शाखाले दिउँसो पत्रकार सम्मान तथा गन्तव्य पहिचानका लागि औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
बाजुरा सदरमुकाम मार्तडी नजिकै पर्ने डुंग्री क्षेत्रमा पुगेर हिउँको ओछ्यानमै स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष नन्दा कुमारी थापाले बताएकी छन् । हिउँ परेपछि अति सुन्दर देखिने मार्तडी नजिकैको गन्तव्य डुंग्री क्षेत्रको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको हो ।
सदरमुकामबाट नजिक, सबैको सहज पहुँचमा रहने र सस्तो गन्तव्यको रुपमा डुग्री क्षेत्रलाई विकास गर्न सकिने सन्देश सहीत कार्यक्रम आयोजना गरिएको हो । हिउँमा रमाउन चाहनेहरुका लागि डुंग्री क्षेत्रको पहिचानमा स्थापना दिवसको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको छ ।
चौतारीको स्थापना दिवसमा जिल्लामा सक्रिय प्रेस युनियन र प्रेस सेन्टरका पत्रकारहरुको समेत भव्य सहभागिता रहेको थियो । अध्यक्ष नन्दा थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश अध्यक्ष कृष्ण ओली रहेका थिए । भने केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रकाश सिंह, पत्रकार महासंघका पूर्व अध्यक्ष मदनराज जैशी, महासंघका उपाध्यक्ष पदम सिंह, प्रेस युनियनका जिल्ला अध्यक्ष प्रेम रौले, प्रेस सेन्टरका प्रदेश सचिव सोधा नेपाली सहीतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उपाध्यक्ष मदन विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष शुशिल रोकायाले गरेका हुन् । स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाजुराका संस्थापक विनोद कुमार विकको सम्मानमा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट बसन्त विक र मनिशा घटालालाई सम्मान गरिएको छ ।