बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • २४ वर्षपछि फेरि विभाजनको डिलमा नेकपा एमाले !

२४ वर्षपछि फेरि विभाजनको डिलमा नेकपा एमाले !

  • बुधबार, भदौ २, २०७८
२४ वर्षपछि फेरि विभाजनको डिलमा नेकपा एमाले !

काठमाडौं — प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले फूटको संघारमा पुगेको छ। एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि फूटको दिशामा गएको हो। २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएर माले गठन भएको थियो।

सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका थिए। २०५६ सालको प्रतिनिधि सभामा देशभर लज्जास्पद पराजय व्यहोरेपछि दुई पार्टीबीच फेरि एकता भएको थियो। गौतम, प्रधानलगायत ठूलो हिस्सा एमालेमा फर्के पनि सीपी मैनालीले भने माले पुनर्गठन गरेका थिए। एमाले विभाजन गरेका नेताहरूले पछि पार्टी विभाजन गर्नु गल्ती भएको बताएका थिए।

विभाजनको असर एमालेमा पछिसम्म देखिएको थियो। २०५४ सालमा भएको विभाजनको असर नबिर्सँदै फेरि एमाले विभाजनको डिलमा पुगेको छ। माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि भन्दै हस्ताक्षर संकलन गरिसकेको छ।

२०५४ सालमा विभाजनको कारक महाकाली सन्धि देखिएपनि यसपटक एमाले विभाजनको खास कारण देखिएको छैन। माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम भन्दै आइरहेको थियो। २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग हुनुपूर्व नै माधव नेपाल, झलनाथ खनाललगायत नेताहरूले ओलीको राजीनामा माग गरेका थिए।

यसबीचमा पार्टी एकताका लागि प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेन। दुवै पक्षले कार्यदल गठन गरेर १० बुँदे सहमति गरेपनि त्यसले पार्टी जोगाउन सकेन। अन्तिम कोशिश गर्न भन्दै उपमहासचिव घनश्याम भुसालले हिजो साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी कायम गर्नुपर्ने, समान अधिकार सहितको दुई अध्यक्ष राख्नुपर्ने तथा फागुन २८ पछिका सबै निर्णय खारेज गर्नुपर्ने शर्त माधव नेपालले राखेका थिए। दुवै अध्यक्षको हस्ताक्षर मात्र आधिकारिक हुने लगायत माधव नेपालका शर्त ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ।

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ। आजै निर्वाचन आयोग जाने तयारी भएको नेपाल पक्षीय एक नेताले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार